Monday, November 2, 2015

एसएलसीका विद्यार्थीका लागि मोबाइल वरदान

- धीरेन्द्रप्रसाद साह
यतिखेर मोबाइलको बहुउपयोगी रूपमा प्रयोग गर्न थालेको छ ।  सुरुमा मोबाइल फोन गर्न र फोन रिसिभ गर्नका लागि मात्र प्रयोग गरिन्थ्यो ।  उपभोक्ताको आवश्यक्तालाई पूरा गर्न मोबाइल कम्पनीहरूले विभिन्न सफ्टवेयर (एपस) विकास गरेपछि यसको महìव तथा प्रयोग झन बढ्दै गएको छ ।  विद्यार्थीले मोबाइल उचित काम भन्दा गलत काममा बढी प्रयोग गरिरहेको बुझाइलाई चिरेको छ ।  एसएलसी दिइरहेका विद्यार्थीले मोबाइलबाट रेडियो सुनेर निकै लाभ उठाएका छन् ।  उनीहरूका लागि मोबाइल वरदान सावित भएको जस्तो देखिन्छ ।
मोबाइल प्रयोगमा आएदेखि रेडियो, घडी, ल्यान्डलाइन टेलिफोनलगायतका सामान विस्थापित हुने अवस्थामा रहेका छन् ।  त्यसको काम मोबाइलले पूरा गरिरहेको छ ।  तराईका सप्तरी र सिरहा जिल्लामा स्थानीय रेडियो एफएमबाट शिक्षण सामग्री सञ्चालनमा ल्याएपछि बालबालिकाको मोबाइलप्रति थप मोह बढेको छ ।  घरमा रेडियो फालेको धेरै भइसक्यो, रेडियोबाट सुन्ने काम सबै मोबाइलबाट भइहाल्छ भन्दै सप्तरी जिल्लाको कटैया गाविस–४ स्थित माध्यमिक विद्यालयका एसएलसीमा सहभागी छात्रा विनिताकुमारी प्रमाणीले भनिन्– मलाई त मोबाइल छैन, बुबाको मोबाइलमा एफएमहरूबाट अनिवार्य विषयको सिकाइ गरेकीले एसएलसीमा धेरै प्रश्न मिल्यो ।
एसएलसी परीक्षाअघि स्थानीय एफएमबाट अनिवार्य विषयहरू अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक शिक्षामा शिक्षण सामग्री प्रसारण भइरहदा यसले सहयोग पुग्ला जस्तो लागेको थिएन, तर पनि नियमिति सुन्दै गरे, जब हाम्रो एसएलसी परीक्षा भयो, त्यसबाट धेरै प्रश्नको उत्तर मिल्यो, अनि खुशीले गद्गद् भएको अर्की छात्रा रञ्जना प्रमाणीले बताइन् ।  उनीसँगै सोही विद्यालयका एसएलसीमा सहभागी विद्यार्थी अनिल प्रमाणी, सुरेश यादव, कृष्णप्रसाद राउतलगायतले एकै स्वरमा भन्नुभयो, हामीले अरूबेला मोबाइलमा बढी गीत सुन्ने गरिन्थ्यो, जब एसएससी उपयोगी सामग्री प्रसारण सुरु भएको हेडसर शैलेन्द्रकुमार मण्डलबाट थाहा पाइयो, अनि सुन्न थालियो र सुनेको कुराले एसएलसीमा निकै सहयोग पुग्यो ।
यस वर्ष मधेस आन्दोलनले विगत पाँच महिनासम्म पठनपाठन हुन नसकेकाले कोर्ष पूरा गर्न नसकेर नयाँ योजनाअन्तर्गत सप्तरी र सिरहा जिल्लामा सहयोगात्मक सिकाइ सुरु गरेको थियो ।  गत फागुन १ गतेदेखि स्थानीय एफएम रेडियोबाट सुरु गरेको सहयोगात्मक सिकाइका लागि रेडियोको सट्टा मोबाइलको रेडियो प्रयोग गर्न थालेका थिए ।  यस वर्ष एसएलसीमा सहभागी विद्यार्थीलाई अनिवार्य विषयको अध्ययन गर्न गराउन रेडियोबाट कक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय सप्तरीका शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।  त्यतिबेला रेडियोमा सुनेको आधारमा सिकाइमा हुने कन्फ्युजनलाई हटाउन प्रत्येक साताको मङ्गलबार र शुक्रबार सम्बन्धित विषयका शिक्षकसँग सम्बन्धित विद्यालयमा छलफल गर्ने व्यवस्था मिलाएको बताउँदै उहाँले यस्तो क्रियाकलाप जिल्लाको सामुदायिक माध्यमिक विद्यालयका एससलसीमा सहभागी हुने विद्यार्थीलाई मध्यनजर गरी सञ्चालन गरेको थियो ।  जिल्लामा कुल ११२ माध्यमिक विद्यालयमध्ये ७६ वटा माध्यमिक विद्यालय मात्र छन् ।
मधेस आन्दोलनको बेला ठप्प रहेको पठपाठन विद्यालय सञ्चालनमा आए पनि कोर्ष पूरा गराउन नसक्ने र कोर्ष सके पनि विद्यार्थीले ग्रहण गर्न नसकिने कुरालाई मध्यनजर गरी यस्तो योजना सुरु गरेको सहयोगी संस्था सेभ द चिल्ड्रेनका सप्तरी संयोजक संजीव साहले बताउनुभयो ।  यसमा शिक्षक नभए पनि सिकाइ सिक्ने र मानसिक रूपमा थकाइ नहुने हुँदा विद्यार्थीको आकर्षण बढेको उहाँको कथन छ ।  सो विद्यालयबाट छात्र १० र छात्रा ३४ गरी ४४ जना विद्यार्थी एसएलसीमा सहभागी भइरहेका छन् ।


Load disqus comments

0 comments