Sunday, November 1, 2015

मोबाइल फोनको दुरुपयोग बढ्यो !

बैतडीको शिवलिङ्ग गाविसका गणेश ऐर र लक्ष्मी ऐरबीच मोबाइल फोनबाट माया बस्यो । गणेशको प्रेम लक्ष्मीसित मात्र सीमित थिएन ।  जब लक्ष्मीले यो कुरा थाहा पाइन्, तब प्रेमी गणेशको संवेदनशील अङ्ग (लिङ्ग र अण्डकोष) निमोठेर हत्या गरिन् ।  फोनबाट अन्य केटीसित पनि गणेशको प्रेम सम्बन्ध रहेको लक्ष्मीले सुइको पाएपछि लक्ष्मीले प्रेमीको हत्या गरेर आफूले पनि पासो लगाई आत्महत्या गरिन् । 
घटना अचम्मको थियो ।  प्रेमी भनिएका गणेशको लास युवतीको घर नजिकै थियो भने प्रेमीका लक्ष्मीले घर नजिकैको रूखमा पासो लगाएकी थिइन् ।  जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोली घटनास्थल पुग्दा गाउँ वरिपरिका मान्छे जम्मा भए ।  दुबै प्रेमीप्रेमीकाको पोष्टमार्टम रिपोर्टका आधारमा प्रहरीले दुबैजनाको मोबाइल फोनको कल डिटेल बुझेर गणेशको लिङ्ग लक्ष्मीले निमोठेर आत्महत्या गरेको निष्कर्षमा बैतडी प्रहरी पुगेको छ । 
सूचना प्रविधिको विकाससँगै अहिले प्रत्येक घरपरिवारका सदस्यको हात–हातमा मोबाइल पुगेको छ, तर प्रविधिको सही सदुपयोग नहुँदा प्रेममा धोका खाएको भन्दै युवकयुवतीको आत्महत्या गर्ने सङ्ख्या बढेको पाइएको छ ।  २०७२ साउन महिनादेखि अहिलेसम्म बैतडीमा २२ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।  आत्महत्या गर्ने धेरै कारणमध्ये मोबाइल फोन पनि एक भएको प्रहरीको निष्कर्ष छ । 
मोबाइल फोनबाट जिल्ला प्रहरी कार्यालय आफै हैरानीमा परेको छ ।  यो वर्ष प्रहरीलाई विभिन्न मोबाइल फोनबाट अश्लिल शब्द बोल्ने, जिस्काउने र सेक्स प्रस्ताव राख्ने ६५ वटा मोबाइल नम्बर प्रहरीले सार्वजनिक गरेको छ ।  मोबाइलबाट प्रेम बसेपछि गाउँबाट कलिला युवकयुवती भागेर जाने क्रममा बैतडी प्रहरीले आठजना युवकयुवतीलाई भारतीय सिमानाका झुलाघाटबाट समातेर अभिभावलाई बुझाएको छ । 
यसरी समातिने युवकयुवती १५ देखि २१ वर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका मुद्दा फाँट प्रमुख सई धर्मानन्द भट्टले बताउनुभयो ।  अभिभावले गाउँबाट केटाकेटी भागेर गएको खबर गरेपछि बैतडीको झुलाघाट नाकाबाट समातिने जोडीमध्ये बझाङ, बाजुर, हुम्ला, बैतडी र कञ्चनपुरका रहेका छन् ।  सानै उमेरमा प्रेम विवाह गरी भाततिर भाग्दा युवकयुवी जोखिममा नपरुन् भन्ने हेतुले सिमानाकामा प्रहरीले युवकयुवतीलाई सोधपुछ गर्ने गरेको छ ।  अभिभावकले खबर गरेपछि प्रहरीले सीमा नाकामा विशेष निगरानी बढाएको छ ।  प्रहरीले सोधपुछ गर्दा सबै जोडीले माया प्रेम बसेको, फोनमा कुराकानी हुने गरेको प्रहरीलाई बताउने गरेका छन् । 
सूचना प्रविधिको विकासले मोबाइल फोनपछि दैनिक काम सहज बनाए पनि यसको दुरुपयोले ठूलो सामाजिक विकृति ल्याएको छ ।  खासगरी युवकयुवतीमा मोबाइल फोनको दुरुपयोग बढ्दा कलिलो उमेरमै विवाह हुने गरेको पाइएको छ ।  गाउँका अभिभावकलाई सूचना प्रविधिका विषयमा त्यति जानकारी नहुँदा मोबाइल फोनले छोराछोरी बिग्रिरहेको प्रति उनीहरू चनाखो देखिँदैनन् ।  युवकयुवतीबीच मोबाइलबाट प्रमे बसेको वा भागेर कतै गए भने सामाजिक प्रतिष्ठा जोगाउन पनि गुपचुप बालविवाह गरिदिने गरेका छन् ।  मोबाइल फोनको दुरुपयोगले बालविवाह हुने गरेको जिल्ला विकासमिति बैतडीसित समन्वयमा काम गर्दै आइरहेको संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएलएफ पिए) का जिल्ला प्रमुख गणेश शाहीले बताउनुभयो ।

गोकर्ण दयाल
Load disqus comments

0 comments