Wednesday, August 10, 2016

नदी आसपासका बस्ती बचाउँदै बाढी मापन प्रविधि

टीकाबहादुर बस्नेत, दाङ
बाढीका दृष्टिले अत्यन्तै जोखिमपूर्ण मानिने दाङले यसवर्ष ठूलो क्षति बेहोर्नु परेन ।  जिल्ला भएर बग्ने राप्ती र बबई नदीका साथै अन्य खहरे खोलामा बाढी मापन प्रविधि÷यन्त्र जडान भएपछि जोखिम न्यूनीकरण भएको हो ।  बर्सेनि बाढीबाट बस्तीहरू जोखिममा पर्न थालेपछि बाढीको सूचना प्रवाह गर्नका लागि जिल्लाका दुई नगरपालिकासहित छवटा गाविसमा बाढी मापन केन्द्र निर्माण गरिएको छ ।  २०७१ साल साउन २९ गते राति राप्ती र बबई नदीमा आएको बाढीबाट जिल्लाका दुई दर्जन बढी बस्ती डुबानमा पर्नुका साथै १४ जनाको मृत्यु भएपछि बढी मापन केन्द्र निर्माण गरिएको थियो । 
जिल्लाका बाढी प्रभावित समुदायलाई सुरक्षित गर्न सुरु गरिएको बाढी मापन केन्द्रका कारण यही साउन ११ गते आएको बाढीबाट बस्ती डुबानमा परे पनि कुनै मानवीय क्षति हुन पाएन ।  राप्ती नदीमा एक दशकयताकै ठूलो बाढी आएको भए पनि समयमै सूचना प्राप्त हुँदा अत्यावश्यक सामग्रीका साथै आफू सुरक्षित स्थानमा सरेको स्थानीय बताउँछन् ।  देउखुरी भएर बग्ने राप्ती नदीमा बाढीको सतह बढी खतराको साइरन बजेसँगै नदी आसपासका स्थानीय सुरक्षित स्थानतर्फ सर्ने गरेको स्थानीय घनश्याम चौधरीले बताउनुभयो ।  बढीमा पानीको सतह बढेसँगै खतराको सङ्केत आएसँगै बस्तीमा जानकारी गराउँछौँ अनि बस्तीभित्रका अत्यावश्यक सामग्रीसँग मानिसहरू सुरक्षित स्थानमा सार्ने काम हुन्छ, चौधरीले भन्नुभयो, बाढी मापन केन्द्र बनाएसँगै पछिल्लो दुईवर्ष यता कुनै मानवीय क्षति हुन पाएको छैन ।
राप्ती नदी जस्तै हरेक वर्ष बस्तीमा क्षति पु¥याउँदै आएको देउखुरीको दोलई खोलाले पनि यसवर्ष ठूलो क्षति पु¥याएन ।  बाढी मापन केन्द्रले दिएको खतराको सूचनाका कारण साउन ११ गते बाढी आउनुपूर्व नै बस्तीमा सचेतता अपनाइएको गेज रिडर लोकराज सेढाईंले बताउनुभयो ।  खोलामा आएको बाढीको सतह बढेसँगै खतराको सङ्केत आएपछि समुदायलाई सतर्कता अपनाउन माइकिङ गर्छु, सेढाईंले भन्नुभयो, बाढीले खतराको सतह नाध्न थालेमा समुदायका खोज उद्धार कार्यदल तथा सुरक्षा निकायलाई जानकारी गराउने गर्दछौँ ।
पानी परेसँगै बाढीको त्रासमा दिनरात काट्न बाध्य भएका डुरुवा लुहाडवराका स्थानीय बाढी मापन केन्द्र स्थापना गरेसँगै यसवर्ष ढुक्क भएर बसेका छन् ।  २०७१ साउन २९ गते आएको बाढीले सिंगो बस्ती डुबानमा पार्नुका साथै तीजनाको मृत्यु भएपछि वर्षात्को समयमा त्राही–त्राही भएर बसेका स्थानीय यसवर्ष बाढी मापन केन्द्रकै कारण त्रासरहित भएको स्थानीय लिलाराम विकको भनाइ छ ।  २०७१ साल साउन २९ गते एक्कासि बाढी आयो, हेर्दाहेर्दै बस्ती बगाएर लग्यो ।  त्यही त्रासले हामी बाँचिरहेको समयमा स्थापना भएको बाढी मापन केन्द्रकै सहायताले यसवर्ष ठूलो बाढी आए पनि समयमै सूचना पाउने भएकाले ठूलो क्षति हुन पाएन, विकले भन्नुभयो ।  उता लमही–४ रनियापुरका स्थानीय पनि बाढी मापन केन्द्रका कारण ढुक्क भएर बसेका छन् ।  पहिले वर्षा सुरु भयो भने बाढी आउँछ कि भनेर जागाराम बस्नुपथ्र्र्याे अहिले त पूर्व सूचना प्रणालीका साथीको खबरलाई पर्खंदै आनन्दले सुतिन्छ ।  धेरै डर लाग्दैन, स्थानीय घनश्याम चौधरीले भन्नुभयो, बाढी मापन केन्द्र हाम्रा लागि वरदान सावित भएको छ ।
यी त उहाहरण मात्रै हुन् ।  अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपालले जिल्लाका–२ नगरपालिका र छवटा गाविसमा बाढीको जोखिम न्यूनीकरण गरिरहेको छ ।  युरोपियन युनियनको आर्थिक सहयोग तथा ह्यान्डिक्याप इन्टरनेसनल नेपाल र केयर नेपालको प्राविधिक सहयोगमा राप्ती, बबई नदीका साथै अन्य खोलाहरूमा बाढी मापन केन्द्रको सहयोगमा जोखिम न्यूनीकरण गर्ने कार्य भइरहेको परियोजनाका संयोजक शिव घर्तीले जानकारी दिनुभयो । 
उहाँका अनुसार जिल्लाको राप्ती नदी आसपासका लालमटिया–३ को बागासोती, अर्घाखाँचीको जलुके गाविस–९ तिनखण्डे र लालमटिया–५ को खिनैतामा बाढी मापन केन्द्र स्थापना गरिएको छ ।  त्यस्तै सिसहनिया–५ को दोलई खोला र सिंगेई खोलामा पनि बाढी मापन केन्द्र स्थापना गरिएको छ भने बबई नदी क्षेत्रमा सौडियार–९ कर्नया, डुरुवा–९ चौपरिया र तुलसीपुर १८ शितलपुरमा पनि बाढी मापन केन्द्र स्थापना गरिएको घर्तीले जानकारी दिनुभयो । 

साभारः गोरखापत्र दैनिक ।
Load disqus comments

0 comments