Sunday, March 5, 2017

फेसबुकको क्यास सर्भर राख्दै टेलिकम

काठमाडौं । बढ्दो फेसबुक प्रयोगकर्तालाई लक्षित गर्दै सरकारी लगानीको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले नेपालमै पहिलोपटक फेसबुकको ‘क्यास सर्भर’ राख्ने तयारी गरेको छ । फेसबुकको सहमतीमा सर्भरका लागि आवश्यक उपकरणको प्रक्रिया अघि बढेको टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले जानकारी दिनुभयो । केहि महिनाअघि फेसबुकसँगको सम्झौतापछि टेलिकमले क्यास सर्भर जडानलाई गति दिएको हो । सर्भर जडानका लागि आवश्यक उपकरण फेसबुकले नै टेलिकमलाई उपलब्ध गराएको हो ।



हाल नेपालले हङ्कङ्मा रहेको फेसबुक सर्भरमार्फत यसको ‘कण्टेण्ट’(सामग्रि) प्रयोग गरिरहेको छ । फेसबुकका तिनै सामग्रीमा छिटो पहुँच पु¥याउन टेलिकमले क्यास सर्भर जडान गर्न लागेको हो । क्यास सर्भरले नियमित प्रयोग भइरहने फेसबुक कण्टेण्टलाई बारम्बार खोजिरहनुपर्ने झण्झट हटाउनेछ । सर्भर जति टाढा रह्यो त्यति नै त्यहाँको ‘कण्टेण्ट’सम्मको पहुँचमा समय लाग्ने भएकोले नेपालमै क्यास सर्भर जाडन गर्न लागिएको अमात्यको भनाइ छ । उपकरण आयात प्रक्रिया पुरा भएपछि बढीमा तीन हप्तामा यसको जडान पूरा गर्ने टेलिकमको योजना छ । सर्भर जडानपछि नेपाली फेसबुक प्रयोगकर्ताले पहिलेको भन्दा तुलनात्मक रुपमा छिटो फेसबुक प्रयोग गर्न सक्नेछन् । यो समाचार आजको गोरखापत्रमा दैनिकमा छापिएको  छ ।
टेलिकमले यसअघि सन् २०११ मा गुगलको क्यास सर्भर जावलाखेलस्थित आफ्नो कार्यालयमा जडान गरेको थियो । गुगल अन्तर्गतका जिमेल, युट्युब, जिमेल प्लसमा प्रयोग भइरहने सामग्रीलाई यो सर्भरले छिटो पहुँच पुर्याएको छ । गुगलको सिङ्गापुर र नयाँ दिल्लीमा रहेको सर्भरभन्दा नेपालमै क्यास सर्भर स्थापना भएपछि गुगलमार्फत खोजिने सामग्रीसम्मको पहुँच सहज र छिटो बन्दै गएको छ । जस्तो गुगलबाट हामीले कुनै वेबसाइट नियमित हेछौं भने उक्त वेबसाइट नयाँ हेरिने वेबसाइटभन्दा छिटो खुल्ने र भेटिने हुन्छ । क्यास सर्भरले नै यस्ता नियमित सामग्रीलाई आफै अगाडि ल्याइदिने भएकोले यो सम्भव भएको हो ।
नेपालमा इण्टरनेटको पहुँच बढेपछि सामाजिक सञ्जाल फेसबुकको पनि प्रयोग बढ्दै गएको छ । फेसबुक इण्टरनेट प्रयोगकर्ताको प्राथमिकतामा पर्ने र त्यसैमार्फत स्थानीय सामग्री पनि पढिने र हेरिने भएकोले पनि टेलिकमले क्यास सर्भर राख्न थालेको हो । टेलिकमको इण्टरनेट प्रयोग गरेर फेसबुक चलाउने प्रयोगकर्ताले क्यास सर्भर जडानपछि फेसबुक र त्यहाँबाट नियमित प्रयोग गरिने सामग्रीलाई छिटो हेर्न सक्छन् । तर यसले इण्टरनेट प्रयोग गर्दा लाग्ने खर्चमा भने खासै भिन्नता ल्याउनेछैन । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपाल टेलिकमका विभिन्न प्रविधिमार्फत् ७९ लाख १७ हजारले इण्टरनेट प्रयोग गर्छन् । टेलिकमका मोबाइल इण्टरनेट ग्राहक मात्रै ७५ लाख ८१ हजार छन् ।

के हो क्यास सर्भर ?

क्यास सर्भर अल्पकालीन सर्भर हो । यो मुख्य सर्भर जस्तो फेसबुकमा प्रयोग गरिने सामग्रीको स्रोत भने होइन । तर यसले हामीले बारम्बार प्रयोग गरिरहने सामग्रीलाई भने छिटो प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ । जस्तो हामीले फेसबुकमार्फत नियमित हेरिरहने सामग्रीलाई क्यास सर्भरले तत्काल हेर्न सकिने बनाउँछ । इण्टरनेटमा सम्बन्धित देशकै सूचना तथा जानकारी बढि प्रयोग हुने भएकोले त्यस्ता जानकारी सम्मको पहुँच छिटो बनाउन क्यास सर्भरले सहयोग पु¥याउँछ । विशेष गरी फेसबुकमा राखिने स्थानीय सूचना तथा जानकारी पनि क्यास सर्भरले छिटो पहुँच दिन्छ । तर क्यास सर्भरमा पनि एउटा निश्चित सीमा हुने गर्छ । यसमा केहि निश्चित मात्रामा मात्र सामग्री ‘मेमोरी’मा रहन्छ । लामो समय प्रयोग नभएका सामग्री विस्तारै हट्दै जान्छन् ।


Load disqus comments

0 comments