Monday, February 1, 2016

काभ्रेको सूचना प्रविधि पार्क माल पायौँ, चाल पाएनौ“


राज्यको करोडौँ लगानीमा काभ्रेपलाञ्चोक जिल्लामा बनेको सूचना प्रविधि (आईटी) पार्क अझै सञ्चालनमा आउन सकेको छैन ।  बेलाबेलामा यो सञ्चालन हुने चर्चा त हुने गरेको छ तर विभिन्न प्रयास भए पनि यो सञ्चालनको पर्खाइमा छ । 
सूचना प्रविधि पार्क २५७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।  ३० करोडको लगानीमा पहिलो चरणको पूर्वाधार निर्माण सम्पन्न भइसेकका छन् तर सूचना तथा प्रविधिसम्बन्धी काम हुनुपर्ने यो पार्कमा यतिबेला विभिन्न मेला, महोत्सव, पार्टीको कार्यक्रम हुने गरेको छ ।  धेरैको डेटिङ स्थल पनि यो बन्ने गरेको छ । 
यसलाई सञ्चालनमा ल्याउन विभिन्न प्रयास नभएका पनि होइनन् ।  २०६३ सालमा नेदरल्यान्डको जाभ्रा नामक कम्पनीले छ महिना काम सञ्चालन पनि गरेको थियो ।  इन्टरनेटको समस्या र काठमाडौँदेखि आईटी पार्कसम्म पुग्ने सडक व्यवस्थित नभएको भन्दै कम्पनीले पार्क छोड्यो ।  २०६५ सालमा आईटीसम्बन्धी काम गर्नका लागि अमेरिकन कम्पनी आईबीएमले पार्कमा काम पनि थाल्यो ।  पछिल्लो समय यसलाई निजी क्षेत्रलाई सञ्चालन गर्न दिने चर्चा पनि हुने गरेको छ ।  निजी क्षेत्र काम गर्न इच्छुक रहेको र यसको जिम्मेवारी आफूलाई दिए सञ्चालन गर्ने बताउँछ ।  सरकारी निकाय भने निजी क्षेत्र यसप्रति आकर्षित हुन नसकेको बताउँछ ।  हामीले पटक पटक भनेका छौँ तर राज्यको नेतृत्व तहमा बस्नेको स्पष्ट नीति नहुँदा र राजनीतिक फाइदा मात्रै हेरिएकाले आईटी पार्क सञ्चालनमा आउन नसकेको हो ।  क्यान काभे्रका पूर्वअध्यक्ष कैलाश पलाञ्चोकेले भन्नुभयो ।  क्यानले निजी क्षेत्रलाई २५ वर्षसम्म लिजमा दिनुपर्ने, विद्युत् आपूर्तिका लागि छुट्टै डेडिकेटेड फिडरको व्यवस्था हुनुपर्ने, पार्कमा प्रयोगका लागि ल्याइने सामानमा भन्सार छुट हुनुपर्ने र यहाँ रहने कम्पनीको लागि कर्पोरेट ट्याक्स (कर) लगाउनुपर्ने माग गरेको छ । 
उद्योग वाणिज्य सङ्घ काभ्रेका अध्यक्ष सुरकृष्ण वैद्य पनि यसलाई सञ्चालन गर्न सकिए सबै क्षेत्रले फाइदा लिन सक्ने बताउनुहुन्छ ।  उहाँले उद्योग वाणिज्य सङ्घ र सरकारी निकायको समन्वयमा सचालनमा ल्याउन सके धेरैले रोजगारी पाउने बताउनुभयो । 
मन्त्रालयअन्तर्गतको सूचना तथा प्रविधि विभाग यहीँ रहेको छ ।  सूचना प्रविधिसम्बन्धी कार्य गर्न स्थापना भएको पार्क लगभग ‘भूत बङ्गला’मा परिणत हुने अवस्थामा छ ।  १४४ जना सूचना प्रविधि क्षेत्रका इञ्जिनियरलयाई एक पटकमा रोजगारी दिन सक्ने पार्क सञ्चालनमा नआउँदा जनशक्ति विदेशिरहेको अवस्था छ ।  भवनहरू पनि प्रयोगमा नआउँदा चर्किने अवस्थामा पुगेका छन् भने धेरै पूर्वाधार बिग्रने अवस्थामा छन् ।  सूचना प्रविधि उच्चस्तरीय आयोगको मातहतमा रहेको पार्क आयोग विघटनसँगै अन्योलमा परेको हो ।  अहिले पार्कलाई विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि महाशाखाभित्र सीमित गरिएको छ । 
पछिल्लो समयमा पार्कमा आईटीको सफ्टवेयर, हार्डवेयर उत्पादन हुँदैन, बरु राजनीति दल र सामाजिक सङ्घ, संस्थाको कार्यक्रम गर्ने थलो बनेको छ ।  राजनीति दल र सामाजिक सङ्घ, संस्थाले कार्यक्रम गर्न थालेपछि कतिपयले विवाहको पाटीका लागि समेत आईटी पार्क माग्न थालेका छन् । 
आईटी पार्कमा व्यापारिीक, प्रशासकीय एवं आवासीय भवनसमेत निर्माण भएका छन् ।  पार्कभित्र विद्युत्, अप्टिकल फाइबर आदिको सुविधा पनि छ ।  पहिलो चरणको कार्य पूरा भए पनि सञ्चालनमा नआउँदा दोस्रो चरणमा पार्कभित्रै बैङ्क, स्कुल, पौडीपोखरीलगायतका अत्याधुनिक पूर्वाधारहरू बनाउने योजना अलपत्र परेका छन् । 

- मधुसुधन तिमल्सिना, गोरखापत्र दैनिक, सूचना प्रविधि पेजमा प्रकाशित फिचर समाचार


Load disqus comments

0 comments