Monday, February 1, 2016

सामाजिक सञ्जालभर चर्चामा ११२ वर्षिय नेपाली हजूरआमा

नेपालकी एक वृद्ध महिला यो साता सामाजिक सञ्जालभर चर्चाको विषय बन्नुभएको छ । विश्वका ठूला मिडियादेखि साना मिडियाहरुले समेत उनका बारेमा समाचार प्रकाशन गरेका छन् । वेलायतबाट प्रकाशन हुने मेट्रो, डेलिमेलदेखि न्यूज याहुसम्मका अनलाइनले विशेष स्थान दिएर ११२ बर्षिय नेपाली हजुरआमा बाटुली लामिछानेको समाचार प्रकाशन गरे ।
थानसिंग गाविस– ८ आपचौरका बाटुली लामिछाने अहिले ११२ वर्ष चार महिनाकी भइन्।  उनले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ । बाह्र वर्षअघि टाइफाइड ज्वरो आए पनि त्यसपछि कुनै रोगको सङ्क्रमण नरहेको नातिनी ज्वाइ नवराज न्यौपानेले बताउनुभयो ।
किन भइन त यी बृद्धा चर्चित ? उमेर ११२ वर्ष, र पनि विगत ९५ वर्षदेखि लगातार हरेक दिन ३० वटा चुरोट पिउने । चुरोट सेवनले मानिसको मृत्यु छिट्टै हुन्छ भन्ने आम सत्यलाई चुनौती दिने उनको यही कुराले अहिले उनको भिडियो संसारभरी हेरिँदैछ ।
बाटुली नाम गरेकी यी बृद्धाले भिडियोमा नेपाली बोलेको प्रष्ट सुनिन्छ । उनले १७ वर्षको उमेरदेखि चुरोट खान सुरु गरेको बताइन्छ । बाटुली आमाको सबैभन्दा जेठो छोरा ८५ वर्षका छन् । अन्य चार छोराको भने निधन भइसकेको छ । ८० वर्ष अगाडि कामको खोजीमा उनका श्रीमानले एक्लै छोडेर गएको बाटुली बताउँछिन् । जीवनका कैयन् उतारचढाव देखेकी बाटुली आमालाई उमेरले केही कुरा गर्न फरक नपारेको समाचारमा उल्लेख छ ।
तर चुरोट खाने भने उनको आफ्नै तरिका छ । चुरोटको धुवाँमा निकोटिन हुन्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनले चुरोटलाई दुईवटा औंलाको बीचमा राख्नुको साटो बुढापाकाहरुले सुल्पा मा तम्बाखु खाएजस्तै हत्केलाको बीचमा राखेर सेवन गर्छिन् । उनलाई चुरोट भन्दा बिंडी सेवन गछिन् र अरुलाई पनि बिंडी नै खान भन्छिन् । गत भूकम्पमा उनको घर समेत भत्केपछि उनी मन्दिरमा सहारा लिएर बसेको समाचारमा उल्लेख छ ।
Load disqus comments

0 comments