Tuesday, March 8, 2016

नआत्तिनुस्, भूकम्पलाई ठेगान लगाउन सकिन्छ !

बैशाख १२ गते १२ बजेको त्यो क्षणलाई एक पटक सम्झनुस् त । कति कहालीलाग्दो त्रासदि थियो त्यो  भूकम्पको ! लाग्थ्यो भूकम्प कहिल्यै नआओस्, तर नौ महिना पुग्दा समेत भूकम्पको त्रास नेपाली जनजीवनमा छाइरहेको बेला नेपालका वैज्ञानिकले भूकम्पलाई ठेगान लगाउने प्रविधिको विकास गरेका छन् ।
नेपाली वैज्ञानिकको अग्रसरतामा भूकम्पको तिव्रता रोक्ने ड्यामिङ प्रविधि विश्वमै पहिलो पटक विकास भई सफल परीक्षण समेत भैसकेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ललितपुरको खुमलटारमा गरेको परिक्षणपछि भूकम्पको तिव्रतालाई रोक्ने प्रविधि पत्ता लागेको हो ।
‘हामी प्रारम्भिक नतिजाबाट उत्साहित भएका छांै, करिब ५० प्रतिशत भूकम्पको तिव्रता कम गर्न यो प्रविधि सफल भएको छ’– प्रविधि संकायका प्रमुख वरिष्ठ वैज्ञानिक सुरेश कुमार ढुंगेलले भन्नुभयो ।  वैज्ञानिक ढुंगेलका अनुसार गत जेठ महिनादेखि गरिएको परिक्षणबाट प्रविधिको सकारात्मक नतिजा प्राप्त भएको हो ।
यस प्रविधि अन्तर्गत जमिनको चारैतिर २० गुणा २० को जमिनलाई लिएर दुई मिटर गहिरो र त्यत्ति नै चौडा खाल्डोमा ढुंगाले प्लाष्टिक भरिएको छ । नास्टले गरेको परिक्षणमा ढुँगा र प्लाष्टिक लगायत विभिन्न प्रविधि प्रयोग गरेर घेरिएको जमिन भित्र र बाहिर जमिन हल्लिने मात्रामा फरक देखिएको हो ।
बैज्ञानिक ढुँगेलका अनुसार घेरिएको भागभित्र भुकम्पका बेला बाहिरभन्दा कम कम्पन महशुस गरिएको छ । ‘ठ्याक्कै आधाको फरक पाइयो । यो प्रविधिबाट भूकम्पको तिव्रता कम गर्न सकिने प्रमाणित भएको छ’–उहाँले भन्नुभयो । तिव्रता नाप्नको लागि उक्त संरचनाको भित्र र बाहिर भूकम्प मापन केन्द्रबाट ल्याइएका दुईवटा यन्त्र जडान गरिएको छ ।
ती यन्त्रमा गरिएको रेकर्ड अनुसार भित्र र बाहिर तिव्रतामा फरक पाइएको ढुँगेलले बताउनुभयो । उहाँका अनुसार नेपालले विकास गरेको यो प्रविधि विश्वमै पहिलो पटक हो । अन्य ठाउँमा यस खालको प्रविधिको विकास भएको छैन । ढुँगा र घरायसी सामानहरुको प्रयोगबाट पनि भूकम्पको तिव्रता कम गर्न सकिने यो प्रविधि प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  
विशेषगरी भूकम्पको सतही कम्पनबाट अधिकांश भौतिक संरचनामा क्षति हुने गरेको छ । यो प्रविधिबाट ५० प्रतिशत कम गर्न सफल भएको बताउँदै उहाँले यो प्रविधिको प्रतिलिपि अधिकारका लागि उद्योग मन्त्रालय अन्तर्गतको बौद्धिक सम्पत्ति शाखामा आवेदन समेत गरेको जानकारी दिनुभयो । 
‘हाल हामीले सानो क्षेत्रमा मात्र परीक्षण गरेका हौँ । तर यो प्रविधि साना बस्ती तथा ठूला व्यापारिक भवनका लागि समेत उपयुक्त हुने ठानेका छौं’– ढुंगेलले बताउनुभयो । ‘अहिलेसम्म यो प्रविधिबारे बाहिर सार्वजनिक वहस भएको छैन, प्रतिलिपि अधिकार नपाउँदासम्म विश्वका वैज्ञानिक समक्ष बहसमा लैजान मिल्दैन ।’ प्रतिलिपि अधिकार पाउनका लागि कुनै पनि प्रविधिको सैद्धान्तिक तथा व्यावहारिक परीक्षण भएको एक बर्षको अवधि पूरा हुनुपर्ने प्रावधान रहेको ढुंगेलले बताउनुभयो ।
भूकम्पमापन केन्द्र र नास्टको सहकार्यमा थालिएको यस परीक्षणमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. जीवराज पोख्रेल, प्रविधि संकायका प्रमुख वरिष्ठ वैज्ञानिक सुरेश कुमार ढुँगेल, भूकम्प मापन केन्द्रका भूगर्भविद लोकविजय अधिकारी, मुकुन्द भट्टराई लगायत संलग्न हुनुहुन्छ ।

- अजय शर्मा
Load disqus comments

0 comments