Sunday, March 6, 2016

मायालु फकाउने सम्झनामा टेपरेकर्डर

हातमा टेपरेकर्डर भयो भने तरुनीको ओइरो लाग्थ्यो अनि विवाहका कुरा चलाउन सजिलो हुन्थ्यो
-भक्तबहादुर शाही/दैलेख
एकपटक मायालु फकाउने माध्यम बनेको टेपरेकर्डरको चहलपहल गाउँघरमा यतिबेला लोप हँुदै गएको छ ।  सञ्चारमा भएको विकाससँगै टेपरेकर्डरको महìव कम हुँदै गएको हो ।  हुनेखानेले मात्र यसको प्रयोग गर्ने गर्थे ।  कतिपय त टेपरेकर्डरकै कारण विवाह बन्धनमा बा“धिए तर पछिल्लो समयमा भने देशको सञ्चार क्षेत्रमा भएको विकासले गर्दा अडियो रेकर्डरको माग घट्दै गएको हो । 
पैसा कमाउन विदेश गएका घर फर्किंदा पनि टेपरेकर्डर नै लिएर आउ“थे ।  कुनै समय यस्तो जमाना थियो अडियो रेकर्डरको ।  गाउँघरमा दुःख बिसाउनेसम्मको माध्यम बनेको थियो अडियो रेकर्डर (टेपरेकर्डर) ।   स्थानीय मेला, रत्यौली र देउडा खेलमा अडियो रेकर्ड (टेपरेकर्डर) गर्नेको त घुइँचो हुन्थ्यो ।  स्थानीय मेलामा जान नसकेका घरका मानिसलाई मेलामा गएका उनीहरूका छोराछोरीले नासोका रूपमा गीत रेकर्ड गरेर ल्याइदिन्थे ।  तस्बिर खिच्ने, अडियो गर्न मिल्ने, समाचार सुन्न मिल्ने, बोक्नलाई पनि सजिलो र भिडियो रेकर्डरसमेत भएको डिजिटल मोबाइलको प्रयोग गाउँघरमा ह्वात्तै बढेको छ ।  पैसा कमाउन बाहिरिनेहरू फर्कंदा हातमा टेपरेकर्डरको साटो मोबाइल भिरेर घर फर्किएका भेटिन्छन् ।  कतिपय विद्यार्थी मोबाइलका लागि पढाइ छोडेर भारत जाने गरेको शिक्षक वीरबहादुर माझीले बताउनुभयो ।  उहाँले भन्नुभयो, मोबाइलका लागि भारत जान्छन् अनि फर्केर पढ्न थाल्छन् । 
एकपटक मायालुसमेत फकाउने माध्यम बनेको टेपरेकर्डरको प्रयोगको अवस्था खस्किएको देखेर चिन्तित हुनुहुन्छ दैलेखको, लकान्द्र–९, सिराडीका शेरबहादुर शाही ।  विवाह गर्नका लागि केटी खोज्न सजिलो माध्यम भएको टेपरेकर्डरले आफूलाई समेत विवाह गर्नमा सहयोग पु¥याएको उहाँले बताउनुभयो ।  टेपकै कारणले मेरो दाइको बिहे भयो, उहा“ले भन्नुभयो ।  हातमा टेपरेकर्डर भयो भने तरुनीको ओइरो लाग्थ्यो अनि विवाहका कुरा चलाउन सजिलो हुन्थ्यो, उहाँले थप्नुभयो ।  त्यतिबेला हुने खाने मात्र ग्रामीण भेकमा टेपरेकर्डर बोक्ने गरेका विशाला गाविसका ५७ वर्षीय कर्णबहादुर शाही बताउनुहुन्छ । 
हुनेखाने परिवार होस् वा जोसुकै घरमा पनि एउटा मोबाइल अनिवार्यजस्तै भएको छ ।  पैसा कमाउन भारत जाने अधिकांश बूढापाका होस् वा युवा सबैले उपहारका रूपमा छोराछोरीलाई मोबाइल नै पठाउने गरेको तोलीजैसी–८ का लिला थापाले बताउनुभयो ।  मोबाइल नपठाए पढाइ छाडेर मोबाइलको लागि म तेतै आउँछु भन्छन् ।  पढाइ नछुटोस् भनेर मोबाइल पठाउनै प¥यो, उहाँले भन्नुभयो ।  पहिला टेप रेकर्डर मनोरञ्जनको साधन बनेको ग्रामीण क्षेत्रमा यतिबेला मोबाइल नै मनोरञ्जनको साधन बनेको छ ।  खेतमा काम गर्न गएका हुन् वा वनमा गाई गोठाला वा घाँस दाउरा काट्न गएका हुन्, सबैले हातमा मोबाइल बोकेका भेटिन्छन् । 
मोबाइलको तुलनामा सस्तो र सुलभ मूल्यमा किन्न सकिने टेपको फाटफुट मात्र ग्रामीण भेगमा भेटिन्छन् ।  मोबाइल भित्रिएपछि बिक्रीका लागि रेडियोे पसलमा राखिएका अडियो क्यासेट थन्किएका छन्, झनै एफएम रेडियोले गर्दा घाटा व्यहोर्नु परेको दैलेख नारायण नगरपालिका स्थित प्रविन रेडियो पसलका प्रोपाइटर रामबहादुर श्रेष्ठले बताउनुभयो ।  त्यस्तो त अडियो रेकर्डर बिक्री दैलेखमा मात्र घटेको होइन ।  सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा यसको प्रयोग घट्दै गएको छ ।

साभारः गोरखापत्र दैनिकमा सूचना प्रविधि पृष्ठमा प्रकाशित फिचर स्टोरी
Load disqus comments

0 comments