भक्तबहादुर शाही, दैलेख ।
‘पैसा छोए पाप लाग्छ’ भन्ने लोपोन्मुख जाति राउटे समुदाय पछिल्लो पटक आधुनिकतासँग रमाउँदै गएका छन् । कसैले सित्तैमा अरूले दिएको खानेकुरालाई उपहार ठान्ने यो समुदाय, लोकतन्त्रपश्चात फोटो खिचेमा पैसा चाहिन्छ भनेर माग्ने गर्छन् । सञ्चार, सौर्य ऊर्जा प्रविधिको प्रयोग गर्छन् तर बस्तीमा लगेर प्रयोग गर्दैन । त्यसो नगुर्नको कारण स–साना बालबालिकाले वा महिलाले देखे भने सिको गर्छन् भन्ने चिन्ता लाग्ने गरेको राउटे अगुवा वीरबहादुर शाहीको भनाइ छ । राउटे बालबालिका र युवा आधुनिकतातर्फ लाग्ने रहर भए पनि बूढापाका परम्पराको निरन्तरता नै चाहन्छन् ।
गैरराउटेले प्रयोग गर्ने गरेका केही सरसामान आफ्नो संस्कारविरुद्ध हुने भएकाले प्रयोग गरे पनि आफूसाथै बोक्ने र बस्तीमा लिएर राख्ने नगरेको महामुखिया महिनबहादुर शाहीले बताउनुभयो । हामीलाई रेडियो, मोबाइल किन चाहियो । जनतालाई खान नै पुग्दैन, कहाँ चार्ज गर्ने कसरी सेल ब्याट्री किन्ने बरु त्यो पैसाले खानेकुरा खाउँला उहाँले भन्नुभयो ।
झन्डै ६९ वर्ष नाघिसकेका महामुखियाले भने बेलाबेलामा सञ्चारमाध्यममा अन्तर्वार्ता दिने गर्नुहुन्छ । पत्रकारहरू आफूलाई साह्रै मनपर्छ मेरो जनतालाई । एकचोटि सबै जनतालाई खबर सुनाइदिन्छन् । २०६६ सालमा दैलेख महोत्सवको समयमा पञ्चकोसी एफएममा आफूले पहिलो पटक अन्तर्वार्ता दिएको खुलासा गर्नुभयो । मैले दुनियाँलाई राउटे महोत्सवमा आउन हुन्न धेरै दारु नदिनु होला भनेको थिएँ । गाउँका अधिकांश मान्छेले मेरो भनेको निको मानेछन् । तपाईं मुखियाले आज राम्रो कुरा बोल्नुभयो भनेर सबैले ‘थ्याक्यू’ भनेर हाते मिलाउँथे कहिले नमाझेको पहिला दाँत देखाउँदै हास्दै भन्नुभयो । यो समुदायले सञ्चारकर्मीलाई मन पराउँछन् । सञ्चारका प्रविधिको प्रयोग गर्छन । भिरेर हिंड्दैन । गैरराउटेको प्रश्नको जवाफमा उनीहरूको छोटो उत्तर हुन्छ, हिजो भगवान्ले तपाईंलाई त्यही चिज प्रयोग गर्नु भनी दियो, हामीलाई दिएन कसरी बोक्ने । अध्याँरोमा हिंड्डुल गर्ने टर्च लाइट प्रयोग गरे पनि बेलुका पख किनेको लाइटे कम मूल्यमा बिहानपख गैरराउटेलाई बिक्री गर्छन् ।
कुल देवताले रिसाउने, शिकार नमर्ने जस्ता अन्धविश्वासले समाजमा जरा गाडेको छ । उनीहरूले सल्ली कुकाठको उज्यालो मनपराउँछन् तर सौर्य ऊर्जाको प्रयोग बस्तीमा गर्दैनन् । खाना पकाउन, पानी बोक्नका केही स्टिल, गिल्टी, खुराका भाँडा प्रयोग गर्छन् । अन्य सबै प्रयोजनका लागि कु–काठ नै प्रयोग गर्छन् । प्लास्टिक भाँडाकुँडा हालसम्म प्रयोग नगर्ने यो नै एउटा नमुना योग्य समुदाय हुनसक्छ । हालसम्म प्रयोग गरेका छैनन् ।
लोपोन्मुख जातिले यी प्रविधिको प्रयोग नगर्नु राउटेको एकातिर संस्कार त होला । अर्कोतिर राउटे प्राकृतिकसँग सुमुधुर सम्बन्ध भएकाले प्रयोग गर्ने नगरेको अछाम तुर्माखाँद कालिकाश्वरी उमाविका शिक्षक मनबहादुर बयक बताउनुहुन्छ । बस्तीमा सल्ली र आगोको दियालोले उज्यालो भइहाल्ने भएकाले सौर्य ऊर्जातिर त्यति ध्यान नदिएका हुन् । सबै आवश्यकताको पहिचान नै हो उहाँले थप्नुभयो ।
केही वर्ष अगाडि दाङको चिसापानी बसोबास गरिरहेका बेला एक गैरसरकारी संस्थाले सूचनाबाट जनचेतना जगाउन बस्तीमा रेडियो वितरण गर्नका लाग्दा राउटे मुखिया सूर्यनारायण शाहीले झोकिँदै अस्वीरकार गरेका पत्रकार हरिहरसिंह राठौरले बताउनुभयो । हाम्रो जनतालाई रेडियो चाहिँदैन, यदि जबर्जस्ती गर्ने भए अन्य सहयोग फिर्ता गरिदिने धम्कीपछि त्यो संस्थाले रेडियो वितरण नगरी फर्किएको थियो, उहाँले भन्नुभयो । हुन त राउटेमा सम्पर्क गर्न सजिलो बनाउन मोबाइल किनिदिने वचन धेरै सरकारी वा गैरसरकारी संस्थाले दिएकै हुन् ।
उनीहरूले त्यसको प्रतिकार गरिरहे । भने हामीलाई रेडियो मोबाइल किन चाहियो, खसी चामल दिए भैगो । खसी उनीहरूलाई अधिक मन पराउँछन् । बडादसैँको बेला प्रत्येक घरमा खसी अनिवार्य नै हुनुपर्छ । नत्र पुजा खल्लो हुने बुझाई राउटेमा कायमै छन् । धनसम्पत्तिमा लोभ नगर्ने र खसी, गुना बाँदरबाहेक अन्य मृगको शिकार गर्दैन । भगवान्को आड भरोषा जीवन जिउँदै आएको छ ।
कतै शिकारमा जाँदा राउटेको सञ्चार भनेको हरियो घाँस हो । दोबाटो भएको ठाउँमा घास भाँचेर राख्छन् । घाँसको टुप्पो जतातिर फर्किएको हुन्छ उत्तैतिर अन्य सदस्य जाने गरेको युवा प्रकाश शाहीले खुलासा गर्नुभयो । अधिकांश सहयोगीले मोबाइल दिन्छौँ त भन्छन् । हामी लग्दैनो भनेर जवाफ दिन्छौँ । सम्र्पकका लागि कापीमा फोन नम्बर टिप्न लगाउँछन् । नजिकैको गाउँ सहरका मानिसलाई फोन गर्ने लगाएर सम्र्पक भई राख्छन् ।
साभारः गोरखापत्र दैनिक ।
0 comments