Wednesday, November 16, 2016

बेसहाराको सहारा बन्दै सामाजिक सञ्जाल, उपचार कोषमा ४६ लाखसम्म सङ्कलन

टीकाबहादुर बस्नेत, 
सामाजिक सञ्जालको गलत प्रयोगले विभिन्न साइबर अपराधका घटना बाहिर आइरहँदा दाङमा भने सहयोग सङ्कलनको गतिलो माध्यमका रूपमा यसलाई लिने गरिएको छ ।  रकमको अभावमा मृत्यु कुरिरहेका बिरामीको उपचार खर्च जुटाउन मात्र नभई बेसाहराका लागि आवास जुटाउनसमेत सामाजिक सञ्जाल प्रयोगमा आइरहेको छ ।  दाङ जिल्लाका सञ्चारकर्मी एवं सामाजिक अगुवाहरूको पहलमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत सुरु भएको अभियानबाट ५० हजारदेखि ४६ लाख रुपियाँसम्म सहयोग सङ्कलन भएको तथ्याङ्क भेटिन्छ ।  छ वर्षयता सामाजिक सञ्जालकै सहयोगमा आधा दर्जन बिरामीको उपचार गरिनुका साथै यही सङ्ख्यामा असहायका लागि सहयोग सङ्कलन गरिएको छ ।


दुई छोराको मृत्यु कुरेर बसेको दाङ जिल्ला हाँसिपुरको सिञ्जाली परिवारमा खुसी फर्काउने मात्र नभई रामपुरका असहाय वृद्ध दलित दम्पतीको आवास निर्माणकार्यमा सामाजिक सञ्जाललाई नै प्रयोग गरिएको छ ।  बिरामी दुई छोराको नेपालमा उपचार सम्भव नभएको र ३० लाख रुपियाँभन्दा बढी रकम जम्मा गरेर भारत लैजान डाक्टरहरूले सुझाव दिएपछि छोराहरूको मृत्यु कुरेर बसेकी हाँसिपुरकी हिमा सिञ्जालीको कहालीलाग्दो समाचार तस्बिरसहित सार्वजनिक भएपछि ४६ लाख रुपियाँभन्दा बढी रकम सङ्कलन भएको थियो ।  हिमा सिञ्जालीको नाममा बैङ्कमा रहेको खातामा रकम जम्मा गरिदिन अनुरोधसहितको शब्द र तस्बिर पत्रकार नरेन्द्र केसी र उदय जीएमले सार्वजनिक गरेपछि जिब्रोमा लिम्फोजेमा भन्ने समस्या भएका वसन्त सिञ्जाली र मुटुमा प्वाल परेका समीर सिञ्जालीको सफल उपचार भएको थियो ।  हाल दुवै जना दाङकै घोराही–४ मा रहेको निजी विद्यालयमा अध्ययन गरिरहेका छन् ।
उनीहरूका मामा अमर बुढाले उपचार कोषमा देश–विदेशबाट गरी ४६ लाख रुपियाँ सङ्कलन भएको र काठमाडौँको ग्राण्डी अस्पतालमा उनीहरूको उपचार गरेको जानकारी दिनुभयो ।  मनकारी दाताहरूले आफ्नो परिवारमा खुसी ल्याइदिएको भन्दै बुढाले उपचार कोषमा जम्मा भएको रकमबाट भाञ्जाहरूले पढिरहेको पनि जानकारी दिनुभयो ।
घोराही–११ का खिमबहादुर बस्नेतको उपचारमा पनि सामाजिक सञ्जालकै प्रयोग गरिएको थियो ।  शान्ति सुधा स्कुलको कक्षा १० मा अध्ययनरत बस्नेतलाई बोनम्यारोमा समस्या भएपछि उहाँको उपचारका लागि सहयोग सङ्कलन अभियान थालिएको थियो ।  विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलले थालेको अभियानमा अपेक्षित रकम सङ्कलन नभएपछि पत्रकार डिल्ली मल्लले सामाजिक सञ्जालबाट थाल्नुभएको अभियानबाट सङ्कलन भएको दुई लाख ५० हजार रुपियाँबाट उपचार गरी हाल बस्नेतले आफ्नो अध्ययनलाई अगाडि बढाइरहनुभएको छ ।
त्यस्तै, रुकुम जिल्लाको चोखावाङ–१ की कमला वलीको उपचारका लागि पनि सामाजिक सञ्जाल नै सहयोगी बन्यो ।  आन्द्रामा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएकी वलीको उपचारका लागि दुई लाख ५० हजार रुपियाँ सहयोग सङ्कलन भएको पत्रकार नरेन्द्र केसीले जानकारी दिनुभयो ।  वलीको उपचारमा तीन लाख रुपियाँ खर्च भएको र उहाँ सकुशल रहेको जानकारी पनि उहाँले दिनुभयो ।
पत्रकार केसी अहिले पनि उही अभियानमा हुनुहुन्छ ।  मिर्गाैलामा समस्या देखिएका चौखावाङ–९, रुकुमका प्रवीण केसीको उपचारका लागि अभियान सञ्चालन गरिरहनुभएका केसीले तीन लाख रुपियाँ सङ्कलन भएको जानकारी दिनुभएको छ ।
पत्रकार केसीले भन्नुभयो, मिर्गौला रोगबाट पीडित २७ वर्षे प्रवीण केसीको उपचारमा सात लाख रुपियाँ खर्च लाग्ने अस्पतालबाट जानकारी आएपछि सहयोग सङ्कलन अभियान थालिएकोमा सरकारबाट तीन लाख रुपियाँ सहयोग पाउने आश्वासन आएकाले चार लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेको छ ।  उहाँले एक लाख परिवार र नजिकका आफन्तबाट र बाँकी दुई लाख रुपियाँ सामाजिक सञ्जालको सहयोगमा सङ्कलन भएको जानकारी दिनुभयो ।
बितेका चार वर्षमा दाङमा जिल्लाको राजपुरका पत्रकार छत्र परियारको उपचारका लागि दुई लाख रुपियाँभन्दा बढी सङ्कलन भएको थियो ।  आन्द्रामा क्यान्सर भएका परियारको उपचारकै क्रममा मृत्यु भइसकेको छ ।  बिरामीको उपचारका लागि मात्र नभई असहायलाई सहायता दिने कार्यमा समेत सामाजिक सञ्जाल सहयोगी बनेको छ ।  जन्मदिनको अवसरमा खाद्य सामग्री वितरण गर्न पुग्नुभएका विद्यार्थी नेता प्रकाश शाहीले ८३ वर्षे नमबहादुर बिक र ८० वर्षे आइती बिकको तस्बिरसहित उहाँहरूका लागि आवास निर्माण गर्ने घोषणा सामाजिक सञ्जालमा गर्नुभएको थियो ।  त्यही घोषणाले रामपुर–२, वालिम खोलाका वृद्ध दम्पतीले हाल सुरक्षित आवास पाउनुभएको छ ।
सामाजिक सञ्जालको सहयोगमा सङ्कलन भएको छ लाख छ हजार रुपियाँमध्ये पाँच लाख ७६ हजार रुपियाँमा दुईकोठे पक्की भवनका साथै शौचालय र स्नानगार (बाथरुम) निर्माण गरिएको र बाँकी ३२ हजार उहाँहरूको खातामा जम्मा गरिदिएको जानकारी शाहीले दिनुभयो ।  यो अभियान रोकिएको छैन ।  एक्लैले एक वर्षमा दुई किलोमिटर सडक बनाउने तुलसीपुर–१ का चन्द्रवीर ओलीको परिवारमा पनि सहयोगको ओइरो लागिरहेको छ ।  श्रीमतीसहित छ सन्तान दृष्टिविहीन भएकाले उहाँहरूलाई हिँड्न सजिलो होस् भनेर सडक निर्माण गरेको बताउने ओलीको अभिव्यक्ति र तस्बिर पत्रकार बस्नेतले सार्वजनिक गरेपछि ओली परिवारले हालसम्म एक लाख ५० हजार रुपियाँभन्दा बढी सहयोग प्राप्त गरेको छ ।  सहयोग जुट्ने क्रम जारी छ ।
समस्यामा परेकाहरूको सहयोगका लागि दाङमा अभियान चलिरहेका छन् र सहयोग जुटिरहेको छ ।  आपत्विपत्मा नजिकको साथीका रूपमा सामाजिक सञ्जाल स्थापित बन्दै मात्रै छैन, असहायको साहारा पनि बनिरहेको छ ।  यद्यपि, सङ्कलित रकम सदुपयोग भएको छ कि छैन भन्नेबारेमा चाहिँ सबैमा सजगता आवश्यक छ ।  दाताहरूले पनि रकम व्यक्तिलाई नभई पीडितको खातामा जम्मा गरिदिए मात्र रकमको दुरुपयोग नहुने सम्भावना बढी हुन्छ ।

गोरखापत्र सूचना प्रविधि पृष्ठमा प्रकाशित फिचर समाचार । 
Load disqus comments

0 comments