Thursday, January 12, 2017

करिब डेढ लाख स्मार्ट कार्ड लाइसेन्स वितरण

अजय शर्मा, 
काठमाडौँ, पुस २९ गते ।  यातायात व्यवस्था विभागले हालसम्म करिब एक लाख ४० हजारभन्दा बढी स्मार्ट लाइसेन्स वितरण गरेको छ ।  यस्ता लाइसेन्सको जाँच गर्न यथेष्ट उपकरण ट्राफिक प्रहरीसँग नहुँदा ‘मापसे’ लगायतका विभिन्न कारबाही गर्न समस्या पर्ने गरेको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले स्मार्ट कार्ड परीक्षण गर्ने केही नमुना उपकरण ट्राफिक प्रहरीलाई दिइएको जानकारी दिनुभयो ।  ‘अबको केही दिनमै ५३ हजार स्मार्ट कार्ड ल्याउँदै छौँ ।  थप दुई लाख ५० हजार स्मार्ट कार्डको स्पेसिफिकेसन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएका छौँ’– उहाँले भन्नुभयो ।
प्रवक्ता डा. पाण्डेले हाल वितरण भएका स्मार्ट कार्डको चिप उप्कने र फोटो गुणस्तरीय नभएको गुनासोप्रति आफूहरू जानकार रहेको बताउनुभयो ।  ‘विभागले अब नयाँ जारी गर्ने स्मार्ट लाइसेन्स कार्डको गुणस्तरमा ध्यान दिन्छ ।  यसका लागि हामी गुणस्तरीय नयाँ कार्ड, मेसिन र प्रिन्टर ल्याउँदै छौँ ।  त्यसपछि यस्ता सस्याको समाधान हुन्छ’, उहाँले भन्नुभयो ।
प्रवक्ता डा. पाण्डेले देशभर यकिन रूपले कहिलेदेखि पूर्ण रूपमा स्मार्ट कार्ड लागू हुन्छ भन्न कठिन रहेको बताउनुभयो ।  ‘हाल अनलाइन लाइसेन्स आवेदन र स्मार्ट कार्डको तथ्याङ्क अद्यावधिक गर्ने कामले गर्दा स्मार्ट कार्ड अनुगमनका लागि मेसिन र प्रिन्टरको काम अलिक ढिला भएको हो ।  अबको केही महिनाभित्र उपत्यकामा स्मार्ट कार्डको परीक्षण पूर्ण रूपमा लागू गर्छौँ’ उहाँले भन्नुभयो ।
त्यस्तै कार्य स्थलमा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक स्मार्ट लाइसेन्सबारे जाँच गर्ने हातमै बोक्न सकिने मेसिन हालसम्म उपलब्ध हुन सकेको छैन ।  हाललाई यातायात व्यवस्था विभाग बागमती अञ्चल कार्यालयबाट मात्र यस्तो लाइसेन्स वितरण भइरहेको छ ।

स्मार्ट लाइसेन्स कार्ड स्मार्ट लाइसेन्स बैङ्कको एटिएमजस्तै हुन्छ, जसमा मोबाइलको सिमकार्डमा जस्तै चिप जडान गरिएको हुन्छ ।  कार्डमा रहेको यो चिप चालक र सवारीसँग सम्बन्धित डाटा राखिएका हुन्छन् ।  यस कार्डमा चालकको परिचय, डिजिटल हस्ताक्षर, औँलाको छाप र सवारी साधनको नम्बरसमेत हुन्छ जसको प्रयोगले ब्लु बुक कार्डलाई विस्थापित गर्नेर्छ ।

मितिः २०७३ पुस २९ गते । गोरखापत्र दैनिक
Load disqus comments

0 comments