Tuesday, January 10, 2017

सन् २०१६ मा सूचना प्रविधिका ठूला विवाद

अजय शर्मा
यस वर्षको अन्त्य अर्थात् बितेका ३६५ दिनको समीक्षा गर्दा सन् २०१६ सूचना प्रविधिको क्षेत्रमा अन्य वर्षभन्दा विवादित वर्षका रूपमा सम्झिइने भएको छ । यो वर्ष सूचना प्रविधिको क्षेत्रमा विभिन्न घटनाले उथलपुथल गरायो । त्यसो त सूचना प्रविधिको अभूतपूर्व विकास र नयाँ स्मार्ट ग्याजेट उत्पादनका हिसाबमा निकै उपलब्धिपूर्ण वर्षका रूपमा इतिहासमा अङ्कित भयो ।
तर, यो वर्ष प्रविधिका क्षेत्रमा पूर्ण उपलब्धिमूलक भने बन्न सकेन । सूचना प्रविधिको विकास र नयाँ आविष्कारसँगै यो वर्ष उत्तिकै विवादित बन्यो ।

फेसबुकको भेदभावपूर्ण व्यवहार !
अजय शर्मा
सबैजसो प्रयोगकर्तालाई सामाजिक सञ्जाल फेसबुक आत्मीय लाग्छ । तर, फेसबुकलाई यस वर्ष न्युजफिड र ट्रेन्डिङ विषयमा सूचना प्रवाह गर्दा भेदभावपूर्ण सूचना प्रवाह गरेको आरोप लाग्यो । फेसबुकलाई अमेरिकी कन्जरभेटिभ पार्टीको समाचार रोक्ने काम गरेको भन्ने आरोप लाग्यो, यतिमात्र होइन त्यसपछि आफ्नो ट्रेन्डिङ टपिक्समा प्रक्रियागत रूपमा संशोधन समेत ग¥यो । सूचना प्रविधिको लोकप्रिय वेबसाइट जिमोडोले फेसबुकका पूर्वकन्ट्रायक्टरले कम्पनीले सुनियोजित रूपमा कन्जरभेटिभ पार्टीको समाचार प्रकाशित गरेको आरोप लगाए । यो समाचार प्रकाशित भएपछि रिपब्लिकन पार्टीका सभासद् जोन थुनेले फेसबुकलाई पत्र लेखेर कुन विधिबाट ट्रेन्डिङ टपिक्सको समाचार फेसबुकले बनाउँछ भन्ने विषयमा जानकारी मागेका थिए । फेसबुकले थुनेको पत्र लेखेको दुई दिनपछि ट्रेन्डिङ टपिक्सको पूरा प्रक्रियाबारेमा ब्लग पोस्ट गरेर जानकारी दिएको थियो ।
तर, फेसबुकले यस विषयमा आन्तरिक परीक्षण गर्दा कुनै सूचनामाथि भेदभाव नगरिएको जिकिर गरेको छ । साथै फेसबुकले ट्रेन्डिङ टपिक्सको सूचीमा कन्जरभेटिभ र लिबरल पार्टी दुवैको समाचार लगभग बराबर रहेको बतायो । फेसबुकले ब्लग पोस्टमार्फत वैचारिक र राजनीतिक भेदभावबाट बच्नका लागि न्युज फिड र ट्रेन्डिङमा प्रयोग हुने आफ्नो एल्गोरिदममा परिवर्तन गर्न लागेको जनायो । साथै फेसबुकले यस्ता कुराबाट बच्न न्युज फिड र ट्रेन्डिङ टपिक्समा संलग्न आफ्ना सम्पादकलाई दिशानिर्देशन र प्रशिक्षण दिने बताएको छ ।

ग्यालेक्सी नोट सेभेन पड्कँदा सामसुङलाई महाविपत्ति !
सन् २०१६ को सूचना प्रविधिबारेमा चर्चा गर्दा सामसुङ ग्यालेक्सी नोट सेभेनको विषयमा चर्चा नगर्ने हो भने पूरै सूचना प्रविधिको कथा अधुरो हुनेछ । आजको मितिसम्म किन सामसुङ ग्यालेक्सी नोट सेभेनको ब्याट्री पड्कियो भन्ने कुनै तर्कसङ्गत विश्लेषण हुन सकेको छैन ।
अमेरिकाको फ्लोरिडाका नागरिक जोनथन स्ट्रोबेल नामका पुरुषले पाइन्टको गोजीमा राखेको सामसुङ ग्यालेक्सी नोट सेभेन स्मार्ट फोन विस्फोट हुँदा शरीरका विभिन्न ठाउँ जलेर घाइते भए । ग्यालेक्सी नोट सेभेन विस्फोट भएर आफू घाइते भएसँगै जोनाथनले सामसुङविरुद्ध मुद्दा दायर गरे ।
विश्वका अन्य स्थानमा समेत ग्यालेक्सी नोट सेभेनको ब्याट्री पड्किएपछि अन्ततः सामसुङले समस्या रहेको भन्दै सामसुङले उत्पादन भएका झण्डै १० लाख स्मार्ट फोन फिर्ता लिने घोषणा ग¥यो । त्यतिमात्र नभई, कम्पनीले उपभोक्तालाई ग्यालेक्सी नोट सेभेन प्रयोग नगर्न आग्रहसमेत गर्नुप¥यो ।

एप्पल र एफबीआईको द्वन्द्व
सन् २०१६ को सूचना प्रविधि क्षेत्रमा एप्पल र एफबीआईबीचको सुरक्षा र गोपनीयताको विषयलाई लिएर चर्को बहस चल्यो । एफबीआईले एप्पललाई सानफान्स्किो घटनामा आतङ्ककारीको आइफोनमा रहेको इन्क्रिप्ट गरिएका सूचना हेर्न सहयोग गर्न भनेपछि एप्पल र एफबीआईबीच विवाद सिर्जना भयो ।
पाकिस्तानीमूलका एक अमेरिकी र उनका छिमेकीले सन् २०११ र १२ मा अमेरिकाको क्यालिफोर्नियास्थित एउटा माध्यमिक विद्यालयमा गरेको आक्रमणको छानबिनक्रममा एफबीआईले आइफोन ह्याक गरेको हो । यो विषय बहसमा मात्र सीमित भएन अन्ततः विश्वचर्चित अमेरिकन मोबाइल फोन कम्पनी आइफोन ह्याक गरेर सङ्घीय जाँच व्युरो (एफबीआई) ले एप्पलका कारण अमेरिकाको एक स्कुलमा आतङ्कवादीले आक्रमण गरेको पुष्टि ग¥यो । यो लडाइँमा एप्पल र एफबीआई कसले जित्यो, कसले हार्यो ?

ट्वीटर सीईओ बर्खास्त !
ट्वीटरले आफ्नै सीईओलाई कम्पनीबाट नभई माइक्रो ब्लगिङ साइटबाटै हटायो । यो अत्यन्त हास्यास्पद घटना ट्वीटरको प्राविधिक समस्याका कारण हुन पुग्यो । यस घटनामा ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सेको अकाउन्टमात्र डिलिट भएन उनका झण्डै ३९ लाख फलोअर्ससमेत डिलिट भए । यसबाट आमप्रयोगकर्तामाझ ट्वीटर निकै बदनाम हुन पुग्यो । यसरी कसैको विनाकारण एकाउन्ट डिलिट भएको विषयले सूचना प्रविधि क्षेत्रमा सन् २०१६ मा ठूलै बहस भयो । साथै एक दशक एकछत्र राज गरेको माइक्रोब्लगिङ साइट ट्वीटरको बिक्रीको चर्चाले सूचना प्रविधि क्षेत्र पुनः ततायो । हाल ट्वीटरको करिब ३० करोड एक्टिभ युजर रहेको छ । अमेरिकी कम्पनी डिस्नी र सेल्सफोर्सले ट्वीटरलाई किन्न इच्छा देखाएको खबर छ ।

युरोपियन युनियन र गुगलबीच विवा
इन्टरनेट सर्च इन्जिन कम्पनी गुगललाई आफ्नै सुरक्षा नीतिले यो वर्ष निकै अप्ठ्यारोमा पा¥यो । युरोपियन युनियनले गुगलको सुरक्षा नीति कमजोर भएको भन्दै कारबाहीको दायरामा राखेपछि गुगललाई टाउको दुखाइ भयो । युरोपियन युनियनले गुगलको वर्तमान सुरक्षा नीति निकै फितलो भएको जनाएको छ । साथै गुगलले गलत ढङ्गले विज्ञापनलाई बढावा दिएको मात्र नभई अन्य प्रतिस्पर्धि सर्च इन्जिन र अनलाइन सेवालाई जानीबुझी ब्लक गरेको भन्दै गुगलविरुद्ध कारबाहीमा जाने घोषणा ग¥यो । त्यसो त गुगलले गत मार्च महिनादेखि सर्वत्र उपलब्धिको नीतिअन्तर्गत सर्वसाधारणको जानकारी लिने गरेको थियो । तर, यसरी अगाडि बढ्दा सुरक्षाका स्थितिले र व्यक्तिगत जानकारीका आधारमा पनि खतरा हुने युरोपियन युनियनको दाबी छ ।
यी दुईबीच करिब ६ वर्षदेखि यस विषयमा विवाद हुँदै आएको छ । युरोपियन युनियनले गुगललाई चार महिनाको समय दिएर आफ्नो नीतिमा परिवर्तनका लागि आग्रह गरेको थियो तर सो सम्बन्धमा गुगलले कुनै चासो नदेखाएपछि अन्ततः कारबाहीको दायरामा आउने सक्ने देखिएको हो । यता, गुगलले ब्लग पोस्ट गर्दै ‘हामी गुणस्तर सेवा र तथ्यपरक सूचनामा कहिल्यै सम्झौता गर्दैनौ । यसका बाबजुद हामीले यससम्बन्धमा सुधार गरेका छौँ । यो परिवर्तन कसैको दबाबमा नभएर हाम्रा प्रयोगकर्ताको भावनाअनुसार गरेका हौँ,’ भनेको छ ।
यो विवाद यत्तिकै सकिनेवाला छैन, सन् २०१७ मा कसरी यो विषयमा गुगल र युरोपियन युनियन बढ्ने छन् हेर्न बाँकी छ ।

साइबर हमलाको जोखिममा विश्व
विश्वमा साइबर अपराध हुने देशको सूचीमा अमेरिका पहिलो र चीन दोस्रो स्थानमा आउँछन् । कुल साइबर अपराधमध्ये अमेरिका २३ प्रतिशत, चीन ९ प्रतिशत र जर्मनीमा ६ प्रतिशत हुने गरेको सिमेन्टेकको अध्ययनले देखाएको छ ।
यस्तै प्रविधिसँग जोडिएर अमेरिकी चुनावसमेत विवादित बन्न पुग्यो । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्निटनको चुनावी अभियानका डाटाहरू ह्याक भएको घटनाले निकै स्थान पायो । उता, प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको संलग्नतामा रसियन इन्टेलिजेन्स सर्भिसले उक्त डाटा ह्याक भएको अनुमान गरेको समाचारले स्थान पायो । साथै यो वर्ष अन्त्यसम्ममा अमेरिका र चीनबीच साइबर प्रतिस्पर्धा भइरहेको भन्ने कुराले शीर्षस्थान पाएको छ ।
अन्त्यमा, 
सन् २०१६ साइबर सुरक्षाका हिसाबले निकै संवेदनशील वर्ष बन्यो । यो वर्ष इन्टरनेट सुरक्षा र इन्टरनेट अफ थिङ्सको सुरक्षाले सूचना प्रविधिको क्षेत्रमा ठूलै बहसको विषय भयो । विद्युतीय उपकरणलाई रिमोट सेन्सिङको मद्दतले आफ्नो इच्छाबमोजिम जुनसुकै स्थानबाट विद्युतीय उपकरण सञ्चालन, निगरानी र उपयोग गर्न सकिने प्रविधि नै इन्टरनेट अफ थिङ्स हो । विश्वमा इन्टरनेट अफ थिङ्सको चर्चा चले पनि यस क्षेत्रमा त्यस्तो उल्लेखनीय उपलब्धि भइसकेको छैन । तथापि सन् २०१७ मा यसको प्रयोगले व्यापकता पाउनुका साथै सुरक्षाको विषयमा समेत यसले खतरा ननिम्त्याउला भन्न सकिन्न ।
स्रोत: विभिन्न अनलाइन साइट
प्रकाशितः गोरखापत्र दैनिक शनिवार विशेष

Load disqus comments

0 comments