Wednesday, January 4, 2017

नक्कली सर्टिफिकेट बनाउने साइबर सञ्चालक पक्राउ

काठमाडौं, पुस २० गते । नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न तीन जनालाई विभिन्न सामानसहित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा काठमाडौं सिनामङ्गल बस्ने कास्की चापाकोट–६ का ३२ वर्षीय यम भन्ने ऐनबहादुर थापामगर, सामाखुशी रानीबारीस्थित आइटि भेट टेक्नोलोजीका सञ्चालक काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३५ वर्षीय विकास रम्तेल र उक्त साइबरमा काम गर्ने काठमाडौं बालाजु बस्ने तनहुँ मिर्लाङ–३ घसरका २९ वर्षीय भगवान भण्डारी रहेको  महानगरीय अपराध महाशाखाले बताएको छ ।
उक्त प्रहरी टोलीले ऐनबहादुर थापामगरलाई यमबहादुर थापाको नामको एसएलसीको नक्कली सर्टिफिकेट  सहित पुस १८ गते काठमाडौं महानगरपालिका–३० जमलबाट पक्राउ गरेपछि उक्त टेक्नोलोजीका संचालक रम्तेल तथा भगवान भण्डारीले १ हजार रुपैयाँमा बनाएको खुल्न आएको थियो । साइवर खानतलासी गर्दा कम्प्युटर १ थान, रंगिन प्रिन्टर २ थान, नक्कली सर्टिफिकेट तथा मार्कसिट, सेक्सन अफिसर लेखिएको छाप, टोखा नगरपालिका लेखिएको लेटरप्याड, विभिन्न एम्बेसीहरुको लेटरप्याड, विभिन्न प्राइभेट कार्यालयहरुको नामको लोगो भएको छाप लगायतका सामानहरु बरामद भएको थियो ।
पक्राउ परेका व्यक्तिहरुलाई ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको जनाइएको छ ।
Load disqus comments

0 comments