Monday, April 24, 2017

डिजिटल प्रविधिमा लगिँदै टेलिभिजन प्रशारणः आत्तिनु पर्दैन बैशाख १५ गते पछि पनि चल्छ केबुल टीभी

अजय शर्मा,
काठमाडौँ, वैशाख ११ गते । वैशाख १५ गतेदेखि एनालग टेलिभिजन नै चल्दैन, डिजिटलमा नगई हुँदैन भन्ने जस्ता हल्लाले आम उपभोक्तालाई यति बेला अन्योल र बेचैन बनाएको छ । सरकारले टेलिभिजन प्रसारण सेवालाई ‘डिजिटलाइज्ड’ गर्ने प्रक्रिया र यो कुराका पछाडि आंशिक सत्यता मात्र छ ।
“केबुल टेलिभिजनको एनालग सिग्नल प्रदायकलाई डिजिटल प्रणालीमा जान चाहेमा निःशुल्क रूपमा वैशाख १५ गतेभित्र डिजिटल प्रणालीमा जाऊ, अन्यथा कर छुट र उपकरण किन्दा लाग्ने भन्सार छुट लगायतका सुविधा कटौती हुन्छ भनेका हौँ ,” सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भन्नुभयो ।
उहाँले डिजिटल प्रणालीमा जान नचाहने स्थानीय टेलिभजन प्रदायकहरुसँग एनालग केबुल सिग्नल रहनसक्ने तर उनीहरु पनि बिस्तारै अन्य ठूला डिजिटल सेवा प्रदायक कम्पनीसँग मिलेर सेवा दिनुपर्ने बताउनुभयो । प्रवक्ता ढकालले  वैशाख १५ देखि पहिलो चरणमा काठमाडौँ, ललितपुर, पोखरा तथा विराटनगरमा एनालग टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजान लागेको बताउनुभयो ।
यी बाहेक अन्य उप–महानगरपालिका र नगरपालिका क्षेत्रभित्र २०७४ कात्तिक १५ गतेसम्म डिजिटल प्रणालीमा जानुपर्ने छ । यस्तै, २०७५ वैशाख १५ गतेबाट यो व्यवस्था देशभर अनिर्वाय रुपमा लागु हुनेछ । सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ मा गरेको संशोधन अनुसार टेलिभिजनलाई डिजिटल प्रणालीमा लगेको हो ।
“केही डिजिटल टेलिभिजन सेवा प्रदायकले वैशाख १५ गतेदेखि केबुल टेलिभिजन र एनालग सिग्नल प्रदायकको सेवा चल्दैन भन्ने जस्तो भ्रामक विज्ञापन प्रसारण गरेको र त्यस्तै समाचार पनि आएकोप्रति मन्त्रालयको ध्यानार्कषण भएको र सो प्रदायकलाई सचेत बनाई सकिएको छ ।” प्रवक्ता ढकालले भन्नुभयो ।
त्यसो त सूचना तथा सञ्चार मन्त्रालयले २०७१ सालदेखि नै एनालग केबुल टेलिभिजन प्रसारणको लाइसेन्स दिने काम बन्द गरि सकेको छ । मन्त्रालयसँग टेलिभिजन प्रयोगकर्ताहरुको यकिन तथ्याङ्क नै छैन । करिब ६० लाखभन्दा बढी टेलिभिजन प्रयोगकर्ता भएको अनुमान रहेकोमा सम्बन्धित सेवा प्रदायकहरुसँग २५ लाख ग्राहकको मात्र डाटा छ ।
नेपाल अन्तरराष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू)को सदस्य राष्ट्र हो । आईटीयूले विश्वभर एनालग टिभीको सट्टामा डिजिटल टिभी कार्यन्वयन गर्न सदस्य राष्ट्रहरुसमक्ष आह्वान गरिसकेको छ । सोही अनुसार नेपालमा पनि डिजिटल टीभीको प्रवेशमा जान लागेको हो । सूचना तथा सञ्चार मन्त्रालयले आईटीयुको अनुरोध बमोजिम नेपालले पनि डिजिटलाइजेसन नीति अवलम्बन गरेको हो ।  

के हो एनालग प्रविधि ?
सन् १९५० को दशकमा सुरु भएको टेलिभिजन सेवाको इतिहासमा एनालग पहिलो प्रविधि हो । यो प्रणालीमा टेलिभिजनको सङ्केत उपभोक्ताको टीभी सेटसम्म पु¥याउन अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सी सङ्केत मार्फत् पठाउने गरिन्छ । यो प्रणालीमा अडियो र भिडियोको गुणस्तर कम र सिग्नल एकतर्फी मात्र हुन्छ ।

के हो डिजिटल प्रविधिमा ?
टेलिभिजनमा अडियो र भिडियो गुणस्तरमा वरदान मानिएको पछिल्लो प्रविधि हो डिजिटल प्रविधि । यस प्रविधिमा अडियो र भिडियोलाई डिजिटल प्रशोधन गरी मल्टिप्लेक्स सिग्नल डिजिटल टिभीका रुपमा प्रसारण गरिन्छ । यस प्रविधिमा पनि एसडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडी लगायतका विभिन्न गुणस्तरको सुविधा उपलब्ध छन् । 

गोरखापत्र २०७३ बैशाख ११ गते प्रकाशित ।


Load disqus comments

0 comments