Saturday, April 22, 2017

गुगल अर्थमा सगरमाथाको कथा पाइने

अजय शर्मा,
काठमाडौँ,  वैशाख ८ गते । विश्वको पहिलो नम्बरको इन्टरनेट खोजी इन्जिन गुगलको भर्चुअल स्याटेलाइट नक्सा (गुगल अर्थ) मा सगरमाथाको कथा पाइने भएको छ । गुगल अर्थको पछिल्लो संस्करण सुरुवातसँग पहिलो चरणमा सगरमाथा आधार शिविरतर्फ जाँदा, गुगल अर्थले त्यस स्थानको बारेमा जान्न चाहने जो सुकैले स्थानका साथै त्यस वरपरको कथा (स्टोरी) समेत पढ्न पाउने भएका छन् ।
गुगल अर्थको प्रमुख विशेषता अन्तरगत  एडमन्ड हिलारी र तेन्जिङ नोर्गे इतिहासका पहिलो सगरमाथा आरोही हुँदा, १९५३ को यात्राका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको घरको एक पूर्वावलोकन हो ।
“तपाईँले यसमा कान्छा शेर्पाको घर देख्न सक्नुहुन्छ । तपाईँले उहाँको यात्रा अनुभव सुन्न र उहाँको घरको बारेमा थप जान्न सक्नुहुन्छ”, स्टोरी साइकलका संस्थापक सौरभ ढकालले भन्नुभयो ।
हाल अमेरिकामा रहनु भएका ढकालले फेसबुक म्यासेन्जरमा गोरखापत्रसँगको कुराकानीमा मंगलबार साँझ गुगलले जारी गरेको गुगल अर्थको नयाँ संकरणमा मङ्गलबार नै नेपाललाई प्राथमिकता दिँदै सगरमाथालाई नयाँ स्टोरी लाइन फिचरमा राखेको जानकारी दिनुभयो ।
यसअघि स्टोरी साइकल, आप्का शेर्पा फाउन्डेसन र गुगल अर्थ आउट रिचको सहकार्यमा सगरमाथा र त्यस आसपासको डिजिटल नक्साङ्कन सम्पन्न भएको थियो । विश्वको कथामा आधारित गुगल अर्थमा कथासंग्र्रह सहितको सुविधा उपलब्ध हुनेछ । गुगल अर्थका प्रयोगकर्तालाई पृथ्वीको बारेमा थप जानकारी सहित नयाँ कथाहरू दिँदै जाने छ । यो सुविधा साप्ताहिक रूपमा अद्यावधिक हुने ढकालले जानकारी दिनुभयो ।

“गुगल म्यापमा जस्तै केही समयपछि आम प्रयोगकर्ताले आफ्नो स्थानको बारेमा कथा सामयिक बनाउन सक्नेछन् । आगामी शनिवार आउँदै गरेको पृथ्वी दिवस (अर्थ डे) को अवसर पारेर क्रोम ब्राउजर तथा एन्ड्रोइड मोबाइलको लागि गुगल अर्थको नयाँ संस्करण सार्वजनिक भएको हो”, ढकालले भन्नुभयो ।
गुगल अर्थको ‘भोयागर’ खण्डमा चलचित्रकर्मी, वैज्ञानिक आदि विभिन्न व्यक्तिहरुले निर्माण गरेका अन्तरक्रियात्मक यात्रा हेर्न सकिन्छ । गुगलका अनुसार, तान्जानियाको राष्ट्रिय निकुञ्जदेखि लिएर बिबिसीले निर्माण गरेको प्लानेट अर्थमा समावेश भएका विभिन्न छ वटा ठाउँसहित पचासभन्दा धेरै यात्राहरु ‘भोयागर’ खण्डमा समावेश गरिएको छ । भोयागर साप्ताहिक रुपमा अद्यावधिक गरिँदै जानेछ ।
‘भोयागर’को ‘दिस इज होम’ खण्डमा नेपालका अग्रणी पर्वतारोही कान्छा शेर्पाको घर समेटिएको छ । कान्छा शेर्पा मार्फत ‘दिस इज होम’ खण्डमा ‘शेर्पाहरुको घर’ को बारेमा चर्चा गरिएको छ । प्रयोगकर्ताहरुले स्ट्रिट भ्यु मार्फत कान्छा शेर्पाको घरभित्र डुल्न, घुम्न सक्छन्, कान्छा शेर्पाको यात्रा अनुभव सुन्न सक्छन्, शेर्पा समुदायको घरबारे जानकारी लिन सक्छन् ।

“गुगल अर्थ सबैका लागि भर्चुअल रुपमा संसार बुझ्न र वास्तवमै विभिन्न स्थानमा घुम्न चाहनेहरुका लागि यो एक उपयोगी शैक्षिक उपकरण हो । स्टोरी साइकल र गुगलसँगको सहकार्यमा भएको यो कार्यले मलाई धेरै उर्जा दिएको छ”, ढकालले भन्नुभयो ।

गोरखापत्र दैनिकमा २०७३ बैशाख १० गते प्रकाशित ।

Load disqus comments

0 comments