Thursday, April 20, 2017

वैशाखमा दुईवटा उल्का वर्षा

काठमाडौँ बैशाख ७ गते ।  मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ ।  यदि यो महिना हेर्न नसकिएमा यस्तो दृश्य हेर्नलाई कात्तिक महिनासम्म कुर्नुपर्नेछ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अनुसार यो महिना वैशाख ५ देखि सक्रिय भएको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने छन् ।  त्यस्तै वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ ।  अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ ।  वैशाख १३ गते औंशी परेकाले यस वर्षको उल्का वैशाख ९ गते राति ९ः४५ बजेदेखि २ः४५ बजेसम्म हेर्दा उत्तम हुने देखिन्छ ।  थ्याचर नामक पुछे्रताराले छोडेका धूलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ ।  थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँछ ।  यस्तै यसै महिनाको २३ गते कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) हँुदैछ ।  उक्त दिन दक्षिणी गोलार्धबाट प्रतिघन्टा ५५ वटाभन्दा बढी देखिने भए पनि नेपालबाट १० देखि ३० वटासम्म देख्न सकिनेछ ।  हेली नामक पुछ्रेताराले छोडेका धूलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ ।  हेली पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ७६ वर्ष लगाउँछ ।
पुछ्रेतारा वा धुम्केतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरू छोड्ने गर्छन् जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् ।  यसरी फैलिएका धूलोका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ ।  परिक्रमा गर्ने क्रममा जब यी धूलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ ।  यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

Load disqus comments

0 comments