Saturday, April 8, 2017

तपाईं ‘स्पाम कल’बाट हैरान त हुनुहुन्न?

अजय शर्मा,
काठमाडौँ, चैत २७ गते ।  तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस् ।  नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ ।

नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ ।  यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगकर्ताको ब्यालेन्स सकिने समस्याले मोबाइल प्रयोगकर्ता हैरान बनेका छन् ।  धेरैजसो मोबाइल प्रयोगकर्तालाई +२१६... नम्बरको मोबाइलबाट कल र मिस्ड कल आउने गरेको पाइएको छ ।  साथै उक्त नम्बर कहाँको हो भनेर इन्टरनेटमा सर्च गर्दा ट्युनिसियामा रजिस्टर भएको देखाउने गरेको छ ।
“यो फ्रड कल हो, यस्तो नम्बरमा कल ब्याक गर्दा मोबाइलमा भएको ब्यालेन्स काटिन सक्छ”, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भन्नुभयो, “यो ‘स्पाम कल’ हो । ” यस्तो नम्बरमा कलब्याक गर्दा उच्च कल दर भएको स्थानमा कल जाने र ब्यालेन्स रित्तिने निर्देशक खनालले
जानकारी दिनुभयो ।
उहाँले यस्तो कल सहजै ट्र्याक गर्न नसक्ने भएकाले स्पाम कल पठाएर पैसा लाने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई लक्षित गरेको हुनसक्ने बताउनुभयो ।  “यस्तो समस्याबाट बच्न सबैभन्दा पहिला उपभोक्ता आफैँ सजग हुनुपर्छ”, निर्देशक खनालले भन्नुभयो ।  
उहाँले यस्ता कलबाट बच्न अनावश्यक ठाउँमा मोबाइल नम्बर रजिस्टर नगर्न उपभोक्तालाई आग्रहसमेत गर्नुभयो ।  प्राधिकरणका निर्देशक खनालले नचिनेको नम्बरबाट कल आएमा कलब्याक नगर्न सुझावसमेत दिनुभयो ।  उहाँले स्मार्ट फोन प्रयोगकर्तालाई मोबाइलमा एन्टी भाइरसका साथै स्पाम कल सेक्युरिटी एप राख्नसमेत आग्रह गर्नुभयो ।
स्पाम कल आउन थालेपछि टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले सावधानी अपनाउन ग्राहकलाई आग्रहसमेत गरेका छन् ।
नेपाल टेलिकमले +२१६९८.., +६७४५.., +२१२... लगायतका विभिन्न अन्तर्राष्ट्रिय फोन नम्बरबाट गलत नियतले आएका मिस्ड कल ब्लक गर्न सम्बन्धित क्यारियरलाई आग्रह गरेको जानकारी प्रेस विज्ञप्ति जारी गरी दिएको छ ।  यस्ता मिस्ड कलमा कल ब्याक नगर्नसमेत टेलिकमले उपभोक्तालाई आग्रह गरेको छ ।
यस्तै एनसेलले पनि अन्तर्राष्ट्रिय नम्बरबाट मिस्ड कल गरी ग्राहकलाई कल ब्याक गर्न उत्प्रेरित गर्ने खालको गतिविधि पाइएको र फ्रड मिस्ड कलमा कल ब्याक गर्दा उच्च शुल्क लाग्ने भएकाले यस्ता नम्बरबाट मिस्ड कल आएमा परिचित नम्बर हो कि होइन यकिन गरी कल ब्याक गर्ने, नगर्ने निर्णय लिन आग्रह गरेको छ ।
केही महिनाअघि मात्र ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्यो रे !’ भन्ने हल्ला चलेको थियो ।  त्यति बेला मानिसहरूले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन आग्रहसमेत गरेका थिए ।
त्यस्तै केही समयअघि ‘आफ्नो प्रेमलाई भेट्न चाहनुहुन्छ ? अहिले फोन गर्नुहोस्’ ‘साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ ।  ं२४३१३३०९८९ मायालु युवतीहरूसँग गफ गर्न चाहनुहुन्छ?’ जस्ता स्पाम म्यासेजले आतङ्क मच्चाएको थियो ।  अहिले फेरि नेपालमा स्पाम कलको बारेमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा चर्चा चुलिएको छ ।
मोबाइलमा कल वा मिस्ड कल आउँदा नचिनेको नम्बर जसको अगाडि प्लस (+) र अन्तर्राष्ट्रिय कल भएमा त्यो स्पाम कल हुनसक्छ ।  त्यसैले तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट यस्तो कल आयो भने सर्वप्रथम इन्टरनेटमा सर्च गरेर सो नम्बर कुन देशको हो पत्ता लागाउन सक्नुहुन्छ ।  मोबाइलको कन्ट्याक्टमा सेभ नभएका नम्बरको पहिचान गर्न ट्र्यु कलर, फोन वारियर, मिस्टर नम्बर जस्ता मोबाइल एप राख्न सकिन्छ ।  मोबाइल प्रयोगकर्ता माझ लोकप्रिय ट्रयु कलरले सामाजिक सञ्जालमा सेयर भएका नम्बरलाई खोजेर कल गर्ने प्रयोगकर्ताको पहिचान बताउने भएकाले यो एप राखेमा नचिनेको नम्बर पहिचान गर्न सकिन्छ ।
मितिः २०७३ चैत २७ गते । गोरखापत्र दैनिकमा प्रकाशित ।
Load disqus comments

0 comments