Sunday, April 9, 2017

विज्ञानमा महिला पुरस्कार घोषणा

काठमाडौँ, चैत २८ गते ।  नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले विज्ञान, सूचना र प्रविधि क्षेत्रमा योगदान पुर्याउने महिलालाई ‘विज्ञानमा महिला पुरस्कार’ घोषणा गरेको छ ।
नासोले पहिलोपटक प्रदान गर्न लागेको ‘विज्ञानमा महिला पुरस्कार’ शीर्षकमा विद्यार्थीतर्फ दिव्या घिमिरे र व्यावसायिकतर्फ प्रेणिता कार्कीलाई चयन गरिएको छ ।  यस पुरस्कारका लागि नासोको ‘वुमन इन स्ट्रोनोमी नेपाल च्याप्टर’ले एक महिनाअघि राष्ट्रव्यापी अनलाइन आवेदन आह्वान गरेको थियो ।  यसरी आह्वान गरेको अनलाइन आवदेनमा कुल २५ जनाको आवेदन परेकोमा १३ जना अन्तिम सूचीमा छनोट भएकामध्येबाट दुई जना उत्कृष्ट छानिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
यसरी पुरस्कृत हुनेमा ‘विज्ञानमा महिला पुरस्कार’ विद्यार्थीतर्फ दिव्या घिमिरे हाल भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा बायोटेक्नोलोजी विद्यामा विद्यावारिधि गर्दै हुनुहुन्छ ।  त्यस्तै ‘विज्ञानमा महिला पुरस्कार’ व्यावसायिकतर्फ प्रेणिता कार्र्की नेपालमै सफ्टवेयर कम्पनी सञ्चालन गर्नुहुन्छ ।  यसका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत उहाँले आफ्नै खर्चमा एक जना छात्रालाई छात्रवृत्तिमा पढाइरहनुभएको छ ।
“हामीले आवदेकको अध्ययनको क्षेत्र, स्तर, उत्पेरणा, योग्यता, सामाजिक योगदान र व्यावसायिक क्षमताका आधारमा छानोट गरेका हौँ ।  सूचनाप्रविधि र विज्ञान क्षेत्रमा महिलालाई प्रत्साहन र हौसला दिऔँ भन्ने उद्देश्यले यो पुरस्कार सुरु गरेका हौँ,” उमन इन स्ट्रोनोमि इन नेपाल च्याप्टरका संयोजक मनिषा द्वाले भन्नुभयो ।
नासोका अनुसार ‘विज्ञानमा महिला पुरस्कार’ यही चैत ३० गते राजधानीमा कार्यक्रमका बीच प्रदान गरिनेछ ।

Load disqus comments

0 comments