Friday, September 30, 2016

गर्ने होइन अनलाइन सपिङ ? यस्ता छन् अनलाइन किनमेलका विकल्प

- अजय शर्मा, 
राजधानीमा दस जोड दुई पढ्दै गरेका सविन शर्मा आफूलाई चाहिने प्रायःजसो सबै सामान अनलाइनबाटै किन्छन् । ‘अहिले त मोबाइलबाटै जे पनि किन्न सकिन्छ नि, अनलाइन किनमेलको मज्जा नै बेग्लै छ । बजारभाउभन्दा कम मूल्यमा सामान पाइएपछि के चाहियो र ?’ उनले भने ।‘मोबाइलबाटै म इलेक्ट्रोनिक्स सामान र मुभीको टिकट किन्छु । यसैबाट इन्टरनेट र मोबाइलको पैसा पनि तिर्न मिल्छ,’ सविनले भने ।
त्रिविबाट स्नातकोत्तर अध्ययन सकेर लोकसेवाको शाखा अधिकृतको तयारीमा जुटेका रेशम राजभण्डारीले अध्ययनका लागि समय बेसी दिनुपर्ने भएकाले कोठामै अनलाइबाट आफूलाई चाहिने आधारभूत कुरा मगाउने गर्छन् । ‘सस्तोमा सस्तो न बार्गेनिङ गर्ने झन्जट न पसल–पसल चहार्नुपर्ने । आफूलाई मन परेको सामान अनलाइन साइटमा हेर्यो मगायो । सामान आएपछि पैसा तिरे पनि हुने, सामान अर्डर गर्दा पैसा तिरे पनि हुने,’ उनले भने ।
यी दुई प्रतिनिधि पात्रमात्र हुन् अहिले खासगरी राजधानीमा अनलाइन व्यापार निकै फस्टाएको छ । अर्डर गरेको आधा घण्टादेखि ढिलोमा २४ घण्टाभित्र सामान कोठैमा पुग्ने भएपछि खासगरी प्रविधिमा रमाउने युवा वर्गको क्रेज बढेको छ, अनलाइन सपिङमा । कोठैमा बसेर मोबाइलबाटै सामानबारे जानकारी लिएर आफूलाई चाहिएको सामानमा एक क्लिक गरेकै भरमा घरैमा सामान आइपुग्ने भएपछि अनलाइन सपिङ पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको छ ।
विश्वमा अनलाइन सपिङ र इ–कमर्स (टेलिसपिङ) को इतिहास सन् १९७९/१९८२ को सेरोफेरोमा सुरु भए पनि नेपालमा भने विगत केही दशकदेखि मात्र अनलाइन सपिङ सुरुवात भएको हो । विश्वबजारमा रहेका विभिन्न अनलाइन सपिङ साइटमध्ये अमेजन डटकम, इबे डटकम, नेटफिलिक्स, अमेजन डट को डट युके, इटीएसवाइ डटकम, वालमार्ट डटकम, आइकी डटकम, स्टोर डट स्टीमपाउडरर्ड डटकम, टारगेट डटकम, होमडिपट डटकम उत्कृष्ट र लोकप्रिय साइट हुन् ।
हाल नेपालमा अनलाइन सपिङ सुविधा दिने कम्पनीका वेबसाइट दर्जनौँको सङ्ख्यामा खुलेका छन् । नेपालमा खुलेका केही मुख्य अनलाइन सपिङ साइट मुन्चा डटकम, नेप्बे डटकम, केमु डटकम, हरिलो डटकम, ठमेल डट कम, सस्तो डिल डटकम, भाटभटेनी अनलाइन डटकम, फुडमान्डे डटकम, मेट्रो तरकारी डटकम, क्लोथनेपाल डटकम र गिफ्टमान्डु डटकमलगायतका दर्जनौँ अनलाइन सपिङ साइट रहेका छन् ।

१. मुन्चा डटकम
२०५५ मा सुरु भएको मुन्चा डटकमले विदेशमा बस्ने नेपालीलाई उपहार पठाउने प्रारम्भिक सेवासाथ आरम्भ भएको अनलाइन साइट अहिले आएर ई–डिपार्टमेट स्टोरमा परिणत भएको छ । विशेषतः विदेशमा बस्ने नेपालीलाई लक्षित यो साइटले पछिल्लो समयमा आइपे अनलाइन पेमेन्ट सिष्टमसमेत सुरुवात गरेको छ । सुरुमा म्युजिकको बिजनेस गर्ने उद्देश्यसाथ सञ्चालन भएको यो साइटमा अहिले म्युजिक, किताबलगायतका विभिन्न सामान किन्न सकिन्छ ।

२. नेप्बे
सन् २००७ देखि सञ्चालनमा रहेको अर्को अनलाइन सपिङ साइट, नप्बे
(Nepbay) पहिल्लो समयमा आक्रामक रूपमा आएको छ । यो अनलाइन साइटमा तपार्इंले सामान किन्नमात्र होइन, तपाईंसँग भएका सामान बेच्न पनि सक्नुहुन्छ । यो साइटमा मोबाइल, इलेक्ट्रोनिक्स सामान, कपडा, दैनिक उपभोग्य सामान पाइन्छन् । नेप्बेमा सन्डे सेलअन्तर्गत ५० प्रतिशत छुटमा किनमेलसमेत गर्न सकिन्छ ।

३. केमु
अर्को चर्चित अनलाइन स्टोर केमु (Kaymu) नेपालको ठूलो इ–कमर्स साइट हो । तपाईंं घरबाटै यस अनलाइन स्टोरबाट कपडा, इलेक्ट्रोनिक्स ग्याजेट र अन्य यस्तै विभिन्न सामान किन्न पाइन्छ । केमुमा पसले तथा आम सर्वसाधारणले समेत आफूसँग भएका प्रडक्ट यो अनलाइन सपिङ साइटमा राखेर व्यापार प्रवद्र्धनसमेत गर्न सक्छन् ।

४. हाम्रोबजार
फ्रि क्लासिफाइड स्टोरका रूपमा आएको हाम्रो बजार अनलाइन सपिङ साइटले पुराना सेकेन्ड ह्यान्ड सामान खरिद तथा बिक्रीको अवसर प्रदान गर्छ । यसले सेकेन्ड ह्यान्ड सामानको खोजीमा रहेका र सेकेन्ड ह्यान्ड सामानको बिक्री गर्न चाहनेबीच सेतुको काम गर्छ ।

५. ठमेल डटकम
२०५५ मा ठमेल डटकमको आरम्भ भएको हो । यो पनि विदेशमा बस्ने नेपालीलाई उपहार पठाउने सेवाबाट थालिएको अनलाइन सपिङ साइट हो । ठमेल डटकमबाट स्वेश तथा विदेशमा गिफ्ट पठाउन र खरिद गर्न सकिन्छ । हाल यो साइटले ठमेल रेमिटमार्फत अनलाइन रेमिट्यान्सको सुविधा पनि दिइरहेको छ । यो एक अनलाइन सपिङ साइटमात्र नभएर अनलाइन कारोबारसमेत गर्छ ।

६. सस्तो डिल
सन् २०११ मा सुरु भएको सस्तो डिल डटकममा अहिले ४० हजारभन्दा बढी प्रोडक्ट अटाएका छन् । यहाँ कपडा, इलेक्ट्रोनिक्स, हेल्थ एन्ड फिटनेस, खाद्यान्न, बालबालिकाका सामानलगायत प्रडक्ट छुट र अफरसहित किन्न पाइन्छ । यहाँ सामान किनेपछि भुक्तानीका लागि इन्टरनेट बैङ्किङ, पेपाल, इ–सेवा, आइपेलागायत पेमेन्ट गेटवे प्रयोग गर्न सकिन्छ । साथै सस्तो डिलले पुस्तक पारखीका लागि सस्तोबुक डटकम पनि सुरु गरेको छ ।

कस्तो छ त नेपालमा अनलाइन सपिङको भविष्य ?    
नेपालमा अनलाइन सपिङको इतिहास त्यति पुरानो छैन । २०५५ देखि सुरु भएका मुन्चा डटकम र ठमेल डटकम नेपालका अग्रणी अनलाइन सपिङ वेबसाइट हुन् । सूचना प्रविधिको तीव्र विकाससँगै केही वर्षयता नेपालमा समेत अनलाइन सपिङ अर्थात् इ–कमर्सको बाढी आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क हेर्ने हो भने ५८.६८ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा छन् । अनलाइन सपिङ अर्थात् इ–कमर्सका लागि चाहिने पहिलो आधारभूत आवश्यकता भनेकै इन्टरनेटको उपलब्धता हो । जति इन्टरनेटको पहुँच राम्रो हुँदै गयो, त्यही अनुपातमा इ–कमर्सको आयातन पनि बढ्ने अनलाइन बिक्रेता बताउँछन् । नेपालको १०औँ जनगणनामा २०६८ मा कुल जनसङ्ख्याको १६ प्रतिशत नेपालीमात्र इन्टरनेटको पहुँचमा रहेका थिए । यो पाँच वर्षको अवधिमा त्यो सङ्ख्या बढेर ५८.६८ प्रतिशत नेपालीमा इन्टरनेटको पहुँचमा पुग्दा इ–कमर्सको क्षेत्रमा आशा गर्ने प्रशस्त सम्भावना देखिन्छन् ।

अनलाइन किनमेल गर्दा यी कुरामा ध्यान पुर्याउनुस् है  
–     अनलाइन सपिङ गर्दा सदैव विश्वास गरिएका र विश्वासिलो अनलाइन साइटबाट मात्र कारोबार गर्नुहोस् । सर्च इन्जिनमा गएर देखिएका सपिङ साइट र अन्जान साइटमा जाँदा ठगीमा पर्न सकिन्छ । कुनै नयाँ वेबसाइट छनोट गर्नुभन्दा आफूले किनमेल गरिसकेको वेबसाइटबाट सामान खरिद गर्नुपर्छ ।

–     अनलाइन सामान खरिद गर्दा वेबसाइटको सेक्युरिटी र प्राइभेसी पोलिसीमा ध्यान दिनुहोस् ।

–     अनलाइन सपिङ गर्दा तपार्इंलाई साइटमा तपाईंंको जन्मदिन, पासपोर्ट नम्बर, नागरिकता नम्बरलगायतका व्यक्तिगत तथ्याङ्क सोधेमा नबताउनुहोस् । अनलाइन सपिङमा यस्ता व्यक्तिगत तथ्याङ्क कुनै पनि आधिकारिक साइटले सोध्दैनन् र चाहिँदा पनि चाहिँदैन ।

–     यदि तपाईं नियमित रूपमा अनलाइन किनमेल गर्नुहुन्छ भने तपाईंले अनलाइन पेमेन्ट गर्ने माध्यम जस्तै क्रेडिट, अनलाइन बैङ्किङ, इ–सेवा, पेपाललगायतका खाताको महिनाको अन्त्यमा नियमित रूपमा स्टेटमेन्ट चेक गर्नुहोस् । यदि कहीं कतै गडबढ छ भने तत्काल सम्बन्धित ठाउँमा सोधपुछ गर्नुहोस् ।

–     अनलाइन कारोबार गर्दा सकभर एउटा डिभाइस प्रयोग गर्नुहोस् । कारोबार गर्ने डिभाइसमा भरपर्दो एन्टी भाइरस राख्नुहोस्, जसले तपाईंंलाई भाइरसबाट त बचाउँछ नै अनलाइन ठगी तथा ह्याकरबाट समेत सुरक्षा प्रदान गर्छ ।

–     तपाईंको एकाउन्टको पासवर्ड अङ्क, अक्षर र विशेष चिन्ह् मिलाएर राख्नुपर्छ । यसो गर्दा तपाईंको पासवर्ड आँकलन गर्नुका साथै अनलाइन ठग तथा ह्याकरले तपाईंको एकाउन्टमा पहुँच बनाउन सक्दैनन् ।
–     सकभर अनलाइन किनमेल गर्दा सार्वजनिक स्थानमा निःशुल्क उपलब्ध वाइफाइ प्रयोाग नगर्नुहोस् । साइबर वा सार्वजनिक स्थानका कम्प्युटरबाट अनलाइन कारोबार नगर्दा राम्रो । यदि गर्नुपर्ने अवस्था आयो भने कारोबारपश्चात् सम्बन्धित कम्प्युटरबाट आफ्नो एकाउन्ट लगआउट गर्नुपर्छ, साथै उक्त कम्प्युटरमा रहेको आफ्नो डाटा र हिस्ट्री क्लियर गर्न बिर्सनुहुँदैन ।

–     कतिपय अनलाइन साइटले सामानको मूल्य एउटा देखाउने र पछि लिँदा विविध शुल्क जोड्ने गर्छन् । कुनै पनि सामान खरिद गर्नुभन्दा पहिले सामानको मूल्य तथा अतिरिक्त मूल्य, वारेन्टी, ग्यारेन्टी, प्याकेजिङ, डेलिभरीलगायतका विषयमा ध्यान दिनुपर्छ ।

विश्वमा लोकप्रिय अनलाइन सपिङ साइट
१. अमेजन डटकम
२. इबे डटकम
३. नेटफिलिक्स
४. अमेजन डट को डट युके
५. इटीएसबाई डटकम
६. वालमार्ट डटकम
७. आइकी डटकम
८. स्टोर डट स्टिम पाउडरर्ड डटकम
९. टारगेट डटकम
१०. होमडीपट डटकम
स्रोतः ‘एलेक्सा डटकम’ (वेबसाइटको रेटिङ गर्ने साइट )

गोरखापत्र दैनिकको शनिवार विशेषमा प्रकाशित, २०७३ असोज १५ गते ।
Load disqus comments

0 comments