Friday, December 30, 2016

नक्कली समाचार रोक्ने फेसबुकको नयाँ उपाय

सामाजिक सञ्जाल फेसबुकले केही समययता नक्कली समाचार भाइरल बन्ने ट्रेन्ड (क्रम) बढेपछि त्यस्ता समाचार रोक्न नयाँ जुक्ति निकालेको छ ।  फेसबुकले अब शङ्कास्पद समाचार चिनाउन समाचार सेयर गरिएको लिङ्कसँगै हेडलाइनको मुनि रातो सङ्केत राख्ने जनाएको छ ।  यसरी राखिने सङ्केतले त्यस्तो समाचार ‘नक्कली’ वा ‘विवादित’ हो भन्ने बुझाउने छ ।
कुनै समाचार नक्कली वा विवादित हो वा होइन भनेर फेसबुक प्रयोगकर्तालेसमेत उजुरी गर्नसक्ने व्यवस्था पनि फेसबुकले गर्दैछ ।  हालसालै सम्पन्न अमेरिकाको राष्ट्रिपति पदको निर्वाचनका क्रममा नक्कली समाचार (फेक न्युज) प्रवाह गरेकाले निर्वाचन परिणाममा प्रभाव परेको र त्यसका लागि फेसबुक जिम्मेवार देखिएको थियो ।  त्यसैले फेक न्युजलाई निरुत्साहित गर्न फेसबुकमाथि पछिल्लो समय चर्को दबाब पर्दैआएको छ ।  फेसबुकले अमेरिकामा फेसबुकमा देखिने समाचारको सत्यता परीक्षण गर्न पोइन्टर नामक संस्थासँग सम्झौता गरेको छ ।  साथै, फेसबुकले विश्वका अरू देशमा पनि समाचारको सत्यता जाँच्न विभिन्न संस्थासँग सहकार्य गर्ने जनाएको छ ।
फेक न्युज लेबल गरिएका विवादित तथा नक्कली समाचारलाई फेसबुकले प्रयोगकर्तामाझ पु¥याउन प्राथमिकतामा राख्नेछैन ।  यस्ता समाचार सेयर गर्नुभन्दा पहिले फेसबुकले आफ्ना प्रयोगकर्तालाई त्यस्तो समाचार नक्कली भएको कुराको जानकारी दिनुका साथै चेतावनीसमेत दिनेभएको छ ।

Load disqus comments

0 comments