Sunday, January 1, 2017

नेपालमै पहिलो पटक फोरजी सेवाको औपचारिक रुपमा शुभारम्भः कसरी सेवा लिने ? तरिका सहित

काठमाडौं, पुस १७ गते । नेपाल टेलिकमले नेपालमै पहिलो पटक फोरजी सेवाको औपचारिक रुपमा शुभारम्भ गरेको छ ।
राजधानी आज आयोजित एक समारोहका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले फोरजी/एलइटी सेवाको लोगो अनावरण गरी यो सेवाको शुभारम्भ गर्नुभएको हो ।
सञ्चार मन्त्री कार्कीले सूचना प्रविधिमा भएको विकासमार्फत सूचना क्रान्तिका लागि तयार रहनु पर्ने आवश्यकतामा जोड दिदै यसका लागि फोरजी/एलइटी सेवाले महत्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले गाउँ गाउँमा ब्रोडब्यान्डमार्फत सेवा दिन नेपाल टेलिकम मात्र सक्षम भएको बताउँदै यसले दैनिक जीवनलाई सहज बनाउन समेत सघाउ पुर्याउने बताउनुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले प्रतिस्पर्धी बजारमा प्रविधिमैत्री बन्नु आवश्यक भएको बताउँदै फोरजी/एलइटी सेवाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री बनाउन समेत सहयोग पुग्ने बताउनु भयो । सरकारले सूचना प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्न थालेको र यसलाई फोरजी/एलइटी सेवाले सघाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सेवा सुरुवात गर्न तीन महिनाको समय सीमा दिएकोमा नेपाल टेलिकमले समयमै यो कार्य सम्पन्न गरेकोमा बधाई दिदै आगामी दिनमा समेत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी दिनमा फोरजी/एलइटीको कभरेजलाई बढाउन सकेमा डिजिटल डिभाइड कम हुने र ग्रामीण क्षेत्रमा समेत विभिन्न क्रियाकलाप गर्न सघाउ पुग्ने भएकोले प्राधिकरणले यसका लागि ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी विभिन्न कार्य गर्ने योजना बनाएको बताउनुभयो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी/एलइटीको विश्व मानचित्रमा समावेश हुने अवसर पाएकोमा गौरव महसुस भएको बताउदै यसबाट नेपाल टेलिकमले सेवाग्राहीको मन जित्न सफल हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले प्रथम चरणमा काठमाडौँ र पोखरा उपत्यकाका सेवाग्राहीहरुको लागि पिक डाटा रेट ३२.४ एमबीपीएस डाउनलोड स्पिड प्रदान गर्न सक्ने नेटवर्क सञ्चालनमा ल्याएको र देशको सम्पूर्ण भू–भागमा यो सेवा क्रमिक रुपमा थप हाइ स्पिड डाटा सर्भिसको रुपमा पुर्याउने लक्ष्यका साथ गृहकार्य अघि बढिसकेको जानकारी गराउनु भयो । नेपाल टेलिकमको फोरजी/एलइटी सेवा पनि अन्य सेवा जस्तै ग्राहकको पहिलो रोजाई बन्ने र नेपाली जनताको अपार माया प्राप्त गर्न सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।
नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक अशोक कुमार थापाले काठमाडौं उपत्यका तथा पोखरामा फोरजी/एलइटी सेवा सञ्चालन गर्न विद्यमान साइट तथा नेटवर्कमा केही अपग्रेड गरी छोटो समय भित्र सेवा सञ्चालनका लागि आपूर्तिकर्ता कम्पनी हुवावे टेक्नोलोजिजसँग सम्झौता सम्पन्न भई आयोजना कार्यान्वयन भएको बताउनु भयो । हाल एक पटकमा झण्डै ३ लाख ५० हजार ग्राहक समेट्न सकिने जानकारी दिदै उहाँले आगामी दिनमा कम्पनीको सवल वित्तीय अवस्थाको सुनिश्चित गराउन समेत फोरजी सेवानै प्रमुख आधार बन्ने विश्वास ब्यक्त गर्नुभयो ।
कसरी फोरजी/एलइटी सेवा एक्टिभेट गर्ने ?
हाललाई जीएसएम पोष्टपेड मोबाइलमा मात्र यो सेवा उपलब्ध हुनेछ । यसका लागि सेवाग्राहीले *444# डायल गरी रजिष्टर गर्न सकिन्छ । सन् २०१७ जनवरी भित्रमा फोरजी सेवाको लागि रजिष्टर गर्ने जिएसएम पोष्टपेड सेवाग्राहीहरुलाई ४ जिबि प्रमोशनल प्याकेजको रुपमा प्रतिदिन १ जीबी डाटाको दरले ४ दिनको लागि फोरजी ४ जीबी निःशुल्क प्रदान गरिने छ । उक्त सुविधा उपभोग गरिसकेपछि अन्य विभिन्न डाटा प्याकेज खरिद नगरेको अवस्थामा विद्यमान डाटा महसुल दर रु. एक प्रति एमबी लाग्नेछ । साथै हाल जिएसएम पोष्टपेट मोवाइल सेवाग्राहीहरुलाई उपलब्ध रहेका विभिन्न डाटा प्याकेजहरु लिई फोरजी सेवा उपभोग गर्न सकिन्छ । भविष्यमा पनि डाटा सेवालाई थप विविधिकरण गरी अझ आकर्षक बनाइने छ ।
नेपाल टेलिकमको जीएसएम मोबाइल मार्फत नेपाल टेलिकमको वेबसाइट (www.ntc.net.np), रिचार्ज गर्ने वेबसाइट (webrecharge.ntc.net.np) र Meet (www.meet.net.np) browse गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ ।
आजै पोखरामा समेत एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरियो । नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक सिद्धप्रताप भारतीले काठमाडौंमा गरिएको शुभारम्भ समारोहलाई फोरजी नेटवर्कमार्फत युट्युब भिडियो देखाएर यसको शुभारम्भ गर्नुभएको थियो ।

Load disqus comments

0 comments