Saturday, May 13, 2017

फेसबुकले स्थानीय तहको निर्वाचनलाई प्राथमिकता दियो

अजय शर्मा

काठमाडौँ, जेठ १ गते ।  नेपालको स्थानीय तह निर्वाचनलाई विश्वकै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले प्राथमिकता दिएको छ ।  सामाजिक सञ्जाल फेसबुकले नेपाली प्रयोगकर्ताका लागि नयाँ फिचर राखेको छ ।  स्थानीय निर्वाचन पहिलो चरणको दिन आइतबार फेसबुकले आफ्नो फिचरमा नेपालको निर्वाचनलाई लक्षित गदैँ नयाँ फिचर सार्वजनिक गरेको हो ।
आइतबार (वैशाख ३१ गते) प्रदेश ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदै गर्दा फेसबुकका प्रयोगकर्ताले आफ्नो फेसबुक वालको माथि ‘नजिकैको बुथमा गएर भोट गर्नुहोस’ र ‘मतदान केन्द्र खोज्नु होस्’ भन्ने सन्देश दिएको थियो ।
फेसबुकले नेपाली प्रयोगकर्ताको वालमा ‘इट्स टाइम टु भोट इन नेपाल लोकल लेभल इलेक्सन’ भन्ने पोस्टको नोटिफिकेसन देखाएको छ ।  स्थानीय निकायको निर्वाचनमा सहभागी हुन आह्वान गर्दै फेसबुकले प्रयोगकर्ताको वालमा सन्देश देखाएको हो ।  फेसबुकले प्रयोगकर्तालाई मतदान केन्द्र खोज्न सहयोग मिल्ने लिङ्कसहित सन्देश वालमा राखिदिएको छ ।  ।  आइतबार पहिलो चरणको प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा पहिलो चरणको मतदान भएको हो ।
फेसबुकले नेपाली प्रयोगकर्ताको वालमा फेसबुक खोल्नेबित्तिकै भोट सेयर गर्नुहोस् भनेर अनुरोध गर्छ ।  प्रयोगकर्ताले सेयर गर्न मन नलागे सो सन्देश सेयर नगर्न पनि सक्छन् ।  आफू निर्वाचनमा सहभागी भएको बारे साथीभाइलाई जानकारी दिन उक्त फिचरले सहयोग गर्छ ।  म भोट गर्दैछु भनेर सेयर गर्नुको अर्थ म निर्वाचनमा सहभागी भएँ भनेर फेसबुकका साथीहरूलाई थाहा दिनु हो ।
यस्तै निर्वाचन आयोगले मौन अवधिमा चुनावी प्रचारप्रसार नगर्न सामाजिक सञ्चाल फेसबुक, ट्वीटर, भाइबर र एसएमएस लगायतमा आचारसंहिता लगाए पनि प्रयोगकर्ताले घुमाउरो तरिकाले फेसबुक पोस्टमा चुनावी प्रचार गर्न भ्याए ।  कतिले ‘आज कुन बार हो?’ भनेर सोध्ने र उत्तर पनि आफैले ‘ओ हो आज त सन्डे हो’ भन्ने ।  ‘काठमाडौँ उपत्यकामा अहिलेसम्म घाम नदेखिएकाले पिपलको फेदमा नै पानी चढाएर खाना खाँदा पुण्य मिल्छ भन्ने मान्यता छ’, ‘ॐ सूर्यायः नम ः ! आज रविबार अर्थात सूर्यबार र स्थानीय तहको निर्वाचनमा सूर्यलाई भोट हाल्ने दिन हो’, ‘रूख वातावरण, जीवन र समृद्धिका लागि, रुख रोपौंँ, समृद्ध बनौँ’ भन्ने लगायतका सन्देश दिनभर सेयर भइरहे फेसबुकमा ।
त्यसो त केही अनलाइन सञ्चारमाध्यमहरूले आफ्नो आधिकारिक फेसबुक पेजहरूमा पनि तपार्इँले केमा भोट हाल्नुभयो ? भनेर लाइभ अभिमत सङ्कलन गरेको देखियो ।  यसरी केही अनलाइनहरूले फेसबुकमार्फत जनमत सङ्कलनको नाममा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने काम गरे ।
साथै निर्वाचनको दिन आइतबार सामाजिक सञ्जालमा भोट हाल्दै गरेका फोटो, भिडियो अत्यधिक रूपमा फेसबुक, ट्वीटर लगायतमा पोस्ट सेयर र लाइक भएका छन् ।  सबैभन्दा बढी युवा जमात स्थानीय निर्वाचनमा उत्साहित भएको देखियो ।  राजनीतिक दलका शीर्ष नेताहरू पनि मतदान गरिसकेपछि आफ्नो आधिकारिक सामाजिक सञ्जालमा फोटो सेयर गरेको पाइयो । 
Load disqus comments

0 comments