Thursday, May 25, 2017

म्यागेसेसे पुरस्कार विजेता महावीर पुनले किन गरे पाँच पदक लिलाम !

अजय शर्मा
काठमाडौँ, जेठ ११ गते ।  “कोही हुनुहुन्छ नेपाली दाजुभाइ दिदीबहिनी ? आज १२ बजे दिउँसोसम्म मात्र ।  मैले प्राप्त गरेका तक्माहरू नेपालमै किन्न इच्छुक महानुभावहरूलाई छोटो र अन्तिम अवसर...” ।
यो कुनै पत्रिकामा प्रकाशित व्यापारिक विज्ञापन होइन ।  एसियाको नोबेल पुरस्कारका रूपमा परिचित  म्यागेसेसे पुरस्कार प्राप्त गर्नुभएका महावीर पुनले मङ्गलबार ट्वीटर र फेसबुकमार्फत राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि आर्थिक जोहो गर्न हालसम्म आफूले प्राप्त गरेका म्यागेसेसे पदकसहित विभिन्न पाँच वटा पदक लिलामीको आह्वान यसरी गर्नुभएको हो ।  उहाँले सन् २००७ मा सो पुरस्कार पाउनुभएको थियो ।
उहाँका पदक लिलामी नै त भएनन्, एक जनाले अमेरिकामा लगेर धेरै मूल्यमा बेच्ने प्रतिबद्धता जनाएकाले त्यस्तो अनुमति दिनुभएको छ ।  नेपाली नागरिकले पाएका पदक विदेशमा लगेर बेच्न मिल्छ मिल्दैन त्यसबारे उहाँले केही बताउनुभएको छैन ।

राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि कहिले सरकारसँग पौँठेजोरी खेलेर र कहिले जनताको घरघरमा गएर दान लिएर बेला बेलामा चर्चामा आइरहनुभएका पुनः पछिल्लोपटक आफूले पाएको पदक लिलामीको घोषणा गरेर चर्चामा आउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘केन्द्र निर्माणका लागि मैले सरकारलाई पटक–पटक अनुरोध गरेँ ।  अब भने गर्दिनँ ।  यस कदमलाई कसैले व्यङ्ग्यात्मक रूपमा लिएका छन् ।  सम्बन्धित निकायलाई साङ्केतिक व्यङ्ग्य गरिएको हो  । ’ केन्द्र निर्माणका लागि केही सहयोग होस् भन्ने मनसायले उहाँले आफूले हालसम्म पाएका पदक लिलामीका लागि आह्वान गरेको बताउनुभयो ।  ‘हाल मेरो घरमा त्यतिकै थन्केर बसेका यी मेडलको के काम ? लिलामबाट केही भए पनि आर्थिक सङ्कलन हुन्छ कि भनेर लिलाम गर्न खोजेको हुँ’ पुनले भन्नुभयो ।
उहाँले केन्द्र स्थापना लागि हालसम्म चार करोड रुपियाँ नगद सङ्कलन भएको जानकारी दिनुभयो ।  केन्द्र स्थापनाका लागि ५० करोड रुपियाँ आवश्यक पर्ने उहाँको भनाइ छ ।  उहाँले हालसम्म सङ्कलन गरिएको रकमको पारदर्शी रूपमा अभिलेख राखिएको र त्यसका लागि पूर्व अर्थसचिव रामेश्वर खनाल र एक जना चार्टर्ड एकाउन्टेन्ट रहनुभएको बताउनुभयो ।
Load disqus comments

0 comments