Thursday, May 25, 2017

विज्ञान र सूचना प्रविधिको नीतिगत व्यवस्था

अजय शर्मा
काठमाडौँ, जेठ १२ गते । सरकारले यस पटकको नीति तथा कार्यक्रममा विज्ञान तथा सूचना–प्रविधिको विकासका क्षेत्रमा नीतिगत व्यवस्था गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नीतिगत व्यवस्थाका लागि मार्ग प्रशस्त गरेको हो ।
सरकारको ३९ बुँदे नीति तथा कार्यक्रममा चार वटा बुँदामा विज्ञान तथा सूचना–प्रविधि क्षेत्रको राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गरिने स्पष्ट गरिएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रबाट प्राप्त हुन सक्ने लाभ, अवसर र सम्भावनालाई खोजी गरी यस क्षेत्रमा सङख्यात्मक र गुणात्मक विकास गरिने स्पष्ट गरिएको छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा अनुसन्धान र विकासलाई उच्च प्राथमिकताका साथ अघि बढाउन राष्ट्रिय कार्ययोजना बनाई त्यसको कार्यान्वयन गरिने जनाइएको  छ ।
व्यापार, लगानी, पर्यटन श्रम लगायतका क्षेत्रको विकास र विस्तारका लागि प्रविधिको उपयोग गरिने भएको छ । ती क्षेत्रको विकासका लागि प्रविधिका क्षेत्रमा सहयोग अभिबृद्धि गर्न देशगत रणनीति सञ्चालन गरी आर्थिक कूटनीतिलाई बढावा दिइने स्पष्ट गरिएको छ ।
सुशासनलाई बढावा दिन प्रविधिमैत्री सेवामा जोड दिइएको छ । त्यसक्रममा नीति तथा कार्यक्रमले अध्यागमन प्रणालीमा प्रविधिको माध्यमबाट अझ गुणस्तरीय र छरितो सेवा प्रदान गरिने जनाएको  छ ।
कृषि क्षेत्रलाई बढी प्रविधिमैत्री बनाइने भएको छ । सिञ्चित क्षेत्र विस्तार गरी वर्षैभरि सम्पूर्ण कृषि योग्य भूमिमा सिंचाइ सेवा उपलव्ध गराउन सिंचाइका सम्भाव्य सबै प्रविधि र प्रणालीहरूको विकास गरिने प्रतिबद्धता जनाइएको छ ।
Load disqus comments

0 comments