Friday, May 26, 2017

महावीरका पदक प्रदर्शनीमा, नेपालमै हेर्ने अन्तिम अवसर !

काठमाडौँ, जेठ १३ गते ।  म्यागासेसे पुरस्कारबाट पुरस्कृत महावीर पुनले हालसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गर्नुभएका पदकहरू प्रदर्शनीमा राख्नुभएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ रकम सङ्कलन गर्न भन्दै पुनले ती पदक बिक्रीका लागि अमेरिका लैजानुभन्दा पहिला नेपालमै हेर्ने अन्तिम अवसर शनिबार बेलुका ४ बजेसम्मका लागि ठमेलको नेपाल कनेक्सनमा प्रदर्शन गरिने बताउनुभयो ।
‘मैले प्राप्त गरेको पदकहरू बिक्रीका लागि राखेको कुरा सबैलाई थाहा छ ।  यसरी बेच्न लाग्दा नेपालीको मन दुखेको अथवा चित्त नबुझेको कुरा पनि मलाई थाहा छ ।  तर सबैलाई त्यति साह्रो मन र चित्त नदुखाउन अनुरोध गर्दछु ।  मेरो मन पटक्कै दुखेको छैन ।  किनभने ती पदकहरू बेचेर आउने रकम राष्ट्रिय आविष्कार केन्द्रका लागि प्रयोग गरिने छ ।  जसले नेपालको विकासमा सानै भए पनि दीर्घकालीन र ठोस योगदान दिनेछ’ उहाँले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।  
सन् २००७ को रामेन म्यागेसेसे पुरस्कार प्राप्त गर्नुभएका पुनले नेपालमा ती पदक किन्न सक्ने क्षमता भएका कुनै पनि व्यक्ति अथवा संस्थाहरूले त्यति गहिरिएर चासो नदेखाएको हुनाले अमेरिकामा पठाउने निर्णय गरेको बताउनुभयो ।  ‘अमेरिकामा लगेर सकेसम्म धेरै मूल्यमा बेच्छु भनेर एकजना भाइले भनेको हुनाले
लैजाने अनुमति दिएको छु,’ उहाँले भन्नुभयो ।
बिक्रीका लागि अमेरिका लैजान लागिएका पदकहरूमा पुनले फिलिपिन्सबाट पाएको रामोन म्यागेसेसे पदक, डा। हर्क गुरुङ पर्वतीय पुरस्कार, दुईवटा राष्ट्रदीप पदक, अमेरिकाबाट पाएको इन्टरनेट हल अफ फेम र अमेरिकाकै नेब्रस्का विश्वविद्यालयबाट पाएको अनर ग्राजुएट पदक छन् ।  
Load disqus comments

0 comments