Monday, May 29, 2017

सूचना तथा सञ्चार-प्रविधिको क्षेत्रमा बजेट- २०७४/०७५



अजय शर्मा, काठमाडौँ
जेठ १६ गते ।  आगामी आर्थिक वर्ष २०७४/०७५ मा सूचना तथा सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन चार अर्ब ९८ करोड रुपियाँ विनियोजन गरिएको छ ।
व्यवस्थापिका संसद्मा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले सञ्चार क्षेत्रको विकासका लागि सबै जिल्लामा दुई वर्षभित्रै तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्न ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रभावकारी बनाउने घोषणा गर्नुभयो ।
सूचना तथा सञ्चार क्षेत्रको विकास गर्न सूचना विभागमा सूचना बैङ्क स्थापना गरिने र आगामी साउन १ गतेदेखि विदेशी च्यानलमा विज्ञापनरहित बनाउने विज्ञापनरहित (क्लिन फिड) नीति लागू गर्ने घोषणा बजेटमा गरिएको छ ।
काठमाडौँ उपत्यकाका सबै नगरपालिकामा समन्वयात्कम रूपमा अत्याधुनिक प्रविधियुक्त स्मार्ट सिटी बनाउने, स्थानीयस्तरमा आवश्यक पर्ने प्राविधिक आपूर्ति गर्न प्राविधिक शिक्षालय स्थापना गरिने बजेटमा उल्लेख छ ।
विदेशमा रहेका नेपाली वैज्ञानिकलाई नेपालमा आएर योगदान गर्न प्रेरित गर्ने, अवैध मोबाइल पैठारी नियन्त्रण गर्न ईएमई नम्बर दर्ता अनिवार्य गर्ने, सूचना प्रविधिको प्रयोग बढाउन तथा सहज रूपमा सूचना प्रवाह गर्न सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत सञ्चालित टेलिसेन्टरहरू र सामुदायिक सूचना केन्द्रहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा स्थानीय हुलाक कार्यालयमार्फत सेवा विस्तार तथा सञ्चालन गर्ने लगायतका विषय बजेटमा समेटिएको छ ।
आगामी आर्थिक वर्षमा सूचना तथा सञ्चारका क्षेत्रमा उल्लेखनीय फड्को मार्ने लक्ष्यका साथ सञ्चालनमा रहेका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिइएको छ ।  सरकारी निकायबाट प्रकाशित सामग्री, सूचना तथा निर्णयहरू एकीकृत रूपमा विद्युतीय माध्यमबाट समेत उपब्ध गराउने गरी सूचना विभागमा सूचना बैङ्कको स्थापना गर्ने व्यवस्था बजेटले गरेको छ ।
हुलाक बचत बैङ्कलाई सबै स्थानीयस्तरमा विस्तार गरी विप्रेषण, खानेपानी, टेलिफोन महसुल, सामाजिक सुरक्षा भत्ताको भुक्तानी केन्द्रको रूपमा विकास गर्ने, विज्ञान प्रविधिको अधिकतम उपयोग गरी पूर्वाधार विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विज्ञान तथा प्रविधिलाई सबै सरकारी सेवा वितरणका लागि मुख्य औजारका रूपमा प्रयोग, आवश्यक अनुसन्धान तथा विकास निकायहरूको क्षमता अभिवृद्धि गर्ने विषय बजेटमा समेटिएको छ ।

पुरा बजेट हेर्नुहोस्
Load disqus comments

0 comments