Sunday, March 12, 2017

नास्टद्वारा सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला खोलिने

- अजय शर्मा 
काठमाडौँ, फागुन ३० गते ।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सातवटै प्रदेशमा आफ्नो विज्ञान प्रयोगशाला स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ ।  नास्टका उपकुलपति डा. जीवराज पोखरेलले वैज्ञानिक अनुसन्धानलाई मोफसलमा समेत विस्तार गर्ने उद्देश्यले प्रथम चरणमा २०७३ चैतमा महेन्द्रनगरमा खोल्ने भएको जानकारी दिनुभयो ।
“देशका सातै प्रदेशको उपयुक्त ठाउँमा विज्ञान प्रयोगशाला स्थापना गर्न लागेको हौँ ।  सबै प्रदेशका सम्भावित स्थानमा गएर सरोकारवालासँग प्रारम्भिक अन्तरक्रिया गरिसकेका छौँ,” उहाँले भन्नुभयो ।
जडीबुटी क्षेत्रमा सबल रहेको सुदूरपश्चिम क्षेत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सहकार्यमा यससम्बन्धी प्रयोगशाला स्थापना गरेर अनुसन्धान कार्य सञ्चालन गर्ने पहल नास्टले गरेको हो ।
नास्टले खोल्न लागेका प्रदेश कार्यालय तथा प्रयोगशालामध्ये प्रदेश नम्बर १ को विराटनगरमा पेय प्रयोगशाला, प्रदेश नम्बर २ को जनकपुरमा खाद्यप्रविधि प्रयोगशाला, प्रदेश नम्बर ३ को हेटौँडामा औद्योगिक प्रयोगशाला, प्रदेश नम्बर ४ को पोखरामा पेय प्रयोगशाला, प्रदेश नम्बर ५ को दाङमा प्राचीन ज्ञान विज्ञान प्रयोगशाला, प्रदेश नम्बर ६ को सुर्खेतमा पशुपन्छी प्रयोगशाला र प्रदेश नम्बर ७ को महेन्द्रनगरमा जडीबुटी प्रयोगशाला रहनेछन् ।
नास्टका अनुसार यसरी खोलिने एउटा प्रयोगशालाको निर्माण अन्तिम चरणसम्म पुग्दा भवन निर्माणमा साढे चार करोड, उपकरण खरिदमा एक करोड गरी जम्मा साढे पाँच करोड रुपियाँ खर्च लाग्नेछ ।  सातवटै प्रदेशमा प्रयोगशाला निर्माण गर्न नास्टलाई ४० अर्ब रुपियाँभन्दा बढी खर्च जुटाउनु पर्नेछ ।  यसका लागि प्रारम्भिक रकमस्वरूप नेपाल सरकारबाट ५० लाख रुपियाँ नास्टले पाएको छ ।
“खासमा नास्ट खोल्ने प्रयोगशाला विश्वविद्यालय जहाँ छन्, त्यहाँ राख्दा वैज्ञानिक अध्ययन अनुसन्धान गर्न सहज हुने भएकाले सोबमोजिम स्थान छनोट भएको हो ।  यसरी स्थापना हुने प्रयोगशालाको निर्माणका लागि सरकारी तथा गुठीको जग्गा प्रयोग गर्ने सोचमा छौँ,” उपकुलपति डा. पोखरेलले भन्नुभयो । 
Load disqus comments

0 comments