Monday, April 3, 2017

स्मार्ट कण्डम

अहिले प्रविधिको जगतमा धेरै कुरा स्मार्टको चलन चल्ती छ, जस्तै: स्मार्ट फोन, स्मार्ट घडी, स्मार्ट माइक्रो ओभन ।  यसैक्रममा एक नयाँ स्मार्ट प्रविधि ‘स्मार्ट कण्डम’ बजारमा आउने तयारीमा रहेको छ ।  बेलायतको एउटा अनलाइन साइटमा यसको बिक्रीका लागि रजिस्ट्रेसनसमेत सुरु गरिसकिएको छ ।  त्यसो त कम्पनीले स्मार्ट कण्डम सन् २०१६ मै विश्व बजारमा बिक्रीका लागि ल्याउने दाबी गरेको थियो ।
‘आइ–कन’ (i.Con) नाम राखिएको यो स्मार्ट कण्डम बनाउने कम्पनीका अनुसार, यसले मानिसले हालसम्म नसोचेका जानकारी दिनेछ ।  यसले प्रयोगकर्तालाई सेक्स कति लामो समय, कति पटक र कति समयपछि गरेको भन्ने तथ्याङ्क दिने कम्पनीको दाबी छ ।  स्मार्ट कण्डम नाम अनुसारको स्मार्ट भए पनि यो परिवार नियोजनको साधन भने होइन ।  यसले गर्भनिरोधकको काम भने गर्नेछैन न त यसले यौन रोगको रोकथाम नै गर्नेछ ।  स्मार्ट कण्डम खासमा साधारण कण्डमको माथि लगाउने एक रिङ्ग हो, जुन कण्डम झै फिट हुन्छ ।
कम्पनीको दाबी अनुसार, स्मार्ट कण्डम पटक पटक प्रयोग गर्न सकिन्छ ।  यसमा रहेको ‘न्यानो चिप’ र सेन्सरको सहायताले सेक्सको जानकारी सङ्कलन हुन्छ ।  प्रयोगकर्ताले एक पटक सेक्स भएपछि ब्लूटुथमार्फत् मोबाइल एपको माध्यमबाट त्यस्तो जानकारी मोबाइलमा डाउनलोड गर्न सक्छन् ।  यसमा यदि प्रयोगकर्ताले चाहन्छन् भने त्यस्तो जानकारी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अरूसँग पनि सेयर गर्नसक्ने सुविधासमेत रहेको छ ।
स्मार्ट कण्डम प्रयोग गर्नुभन्दा पहिले यसलाई चार्ज गर्नुपर्छ ।  एक घण्टा चार्ज गरेपछि सातदेखि आठ घण्टासम्म प्रयोग गर्न सकिन्छ ।  यो मोबाइल र ट्याब जस्तै यूएसबी पोर्टका माध्यमबाट सजिलै चार्ज हुन्छ ।  एक वर्षे वारेन्टी दिइने स्मार्ट कण्डमको मूल्य ६० पाउन्ड रहने बताइएको छ ।  स्मार्ट कण्डमले यौन आनन्दलाई नबढाउने र कुनै प्रकारको यौन रोग वा गर्भ निरोधकको काम नगर्ने भएकाले साधारण कण्डमको काममा भने यसको प्रयोग हुनसक्दैन ।  यसको सेक्सबारे जानकारी दिनेबाहेक अरू उपयोगिता छैन ।

Load disqus comments

0 comments