जिल्लाको मुख्य प्रशासनिक निकायका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीलाई प्रदान गर्ने सेवालाई चुस्त, कर्मचारीलाई काममा व्यस्त बनाउन र सुरक्षालाई समेत मध्यनजर गरी सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । आजको युग प्रविधिको युग भएकाले यसको प्रयोगबाट अधिकतम् फाइदा लिनुपर्दछ, उहाँले भन्नुभयो ।
यो प्रविधिको प्रयोगले आधाभन्दा बढी प्रशासनिक काममा सुधार स्वतः हुनेछ, सेवाग्राही लामो समयसम्म एउटै कक्षमा बसेको देखेमा तत्काल सेवाग्राही र कर्मचारी दुबैलाई स्पष्टीकरण सोधिनेछ, उहाँले भन्नुभयो । दुर्गम जिल्लामा कर्मचारीको दरबन्दी कम हुने तथा भएको दरबन्दीका कर्मचारी पनि काजमा बस्ने समस्या भएका बेला थोरै जनशक्तिबाट धेरै काम गर्नका लागि प्रविधिले सहयोग गर्ने उहाँको विश्वास छ । कार्यालयका कर्मचारीले सेवाग्राहीलाई नागरिकता, राहदानीलगायत कामका लागि आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिएमा, तोकिएको समयभित्र काम सम्पन्न नगरेमा कारबाही गर्ने चेतावनी दिइएको छ । सिसी टिभीबाट सबै कार्यकक्षको रेखदेख गरी सेवा प्रभावकारिताको मूल्याङ्कन गरेर त्यसैका आधारमा कर्मचारीलाई कारबाही गर्ने प्रजिअ शर्माले बताउनुभयो । सिसी क्यामेरा जडानपश्चात प्रशासनिक सेवामा चुस्तता आउने र निगरानी बढाउन सहज हुने प्रजिअ शर्माले बताउनुभयो ।
प्रशासनको विभिन्न कक्षमा पाँचवटा क्यामेरा जडान गरिएको छ । अन्य सरकारी कार्यालय प्रमुखलाई समेत सिसी क्यामेरा जडानका लागि सल्लाह भएकाले चाँडै ती कार्यालयमा पनि यसको प्रयोग सुरु गर्ने बताइएको छ । कार्यालयमा आउनुभएका सेवाग्राहीको काम नियमित रूपमा गरिरहनुभएका लेखापढी व्यवसायी मानबहादुर कार्कीले कार्यालयको सेवा प्रवाहमा धेरै परिवर्तन भएको बताउनुभयो । पहिला बाहिरभित्र गर्ने कर्मचारी अहिले सजक भएर काम गर्न थालेपछि काम फटाफट हुन थालेको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भन्नुभयो, क्यामेरा राखेपछि काममा लाग्नुपर्ने भावना स्वतः आउन थालेको छ, निगरानीमा भएपछि कारबाहीमा पर्ने डरले पनि आफै सतर्क हुने गरेका छौँ । उहाँका अनुसार सेवाग्राही पनि कर्मचारीलाई राम्रो व्यवहार गर्न थालेका छन् । सुरुमा बानी पर्न केही कठिन भए पनि अहिले बानी परेको उहाँको भनाइ छ । नागरिकताका लागि आउनुभएका तिङ्लाका गणेश खड्काले प्रशासनमा सिसी क्यामेरा राखेपछि काम फटाफट भएको बताउनुभयो ।
पहिला पहिला सानोसानो कामका लागि पनि लामो समय लाग्ने गरेको सुन्नुभएका खड्काले आफ्नो काम छिटै भएपछि खुशी व्यक्त गर्नुभयो । प्रविधिले फड्को मारिरहेका बेला जनसम्पर्क बढी हुने जिल्ला विकास समिति, मालपोतलगायतका सबै कार्यालयमा यो प्रयोग गर्नसके जनताको काम सहज तरिकाले हुने जानकार बताउँछन् ।
साभारः गोरखापत्र सूचना प्रविधि पृष्ठ/सन्तोष राउत, सोलुखुम्बु
0 comments